लन्डन । बेलायतको राजधानी लन्डनमा आइतबार, ८ नोभेम्बर २०२६ मा आयोजित Remembrance Sunday को परेडमा ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस) ले उल्लेखनीय सहभागिता जनाएको छ ।
प्रथम तथा दोस्रो विश्वयुद्धलगायत विभिन्न युद्ध र द्वन्द्वमा ज्यान गुमाएका सैनिकहरूको सम्झनामा आयोजित उक्त ऐतिहासिक समारोहमा सोसाइटीका ५० जना सदस्य सहभागी भएका थिए ।
बिहानैदेखि बेलायतका विभिन्न क्षेत्रमा रहेका भूतपूर्व गोर्खा सैनिकहरू लन्डन जाने तयारीमा जुटेका थिए । ह्याम्पसायरको फार्नबरो फुटबल क्लबको कार पार्कमा बिहानै एउटा लामो कोच आइपुग्यो । शरद ऋतुको अन्त्यसँगै बढेको चिसो मौसममा गोर्खा ह्याट, ब्लेजर सोसाइटीको टाइ र छातीभरि पदक सजाएका भूतपूर्व गोर्खाहरू विस्तारै कोचतर्फ जम्मा हुन थाले । एकअर्कालाई ‘गुड मर्निङ’ भन्दै हातमा तातो कफीका थर्मस कप बोकेर भेटघाट गर्दै उनीहरूको उत्साहले परेडप्रतिको विशेष आकर्षण झल्काउँथ्यो ।
ह्याम्पसायरबाट सुरु भएको यो यात्रा लन्डनमा पुर्खाहरूको सम्मानमा आयोजना हुने राष्ट्रिय स्मरण दिवसको समारोहमा सहभागी हुने उद्देश्यले तय गरिएको थियो ।
दुई दशकभन्दा लामो निरन्तर सहभागिता
सन् २००३ मा स्थापना भएको ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी सेनोटाफमा आयोजना हुने रिमेम्बरेन्स सन्डे परेडमा सहभागी हुने पहिलो गोर्खा संस्थाका रूपमा परिचित छ । स्थापनाकालदेखि नै निरन्तर सहभागिता जनाउँदै आएको सोसाइटीले यस वर्ष पनि आफ्नो परम्परालाई निरन्तरता दिएको हो ।
सन् २०२६ को परेडमा बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने सोसाइटीका सदस्यहरुको बाक्लो सहभागी भएका थिए । विशेषगरी ह्याम्पसायर, सरी, बर्कसायर, केन्ट र लन्डनबाट सदस्यहरू परेडमा सहभागी हुन पुगेका थिए ।
सोसाइटीका अध्यक्ष मे. रि.टिकेन्द्र दल देवान जेपीको नेतृत्वमा सहभागी टोलीको परेड कमान्डर वारेन्ट अफिसर क्लास टु (अवकाशप्राप्त) दुर्गानारायण राई रहेका थिए ।
बिहान करिब ९:१५ बजे सहभागीहरू लन्डनस्थित होर्स गार्ड्स परेड ग्राउन्डमा पुगेका थिए । सुरक्षाका कारण कार्यक्रमस्थल प्रवेशका नियमहरू वर्षेनी कडा बनाइँदै लगिएको छ । पूर्वनिर्धारित सूचीमा नाम भएका तथा अग्रिम टिकट बुक गरेका व्यक्तिहरूलाई मात्र प्रवेशको अनुमति दिइएको थियो ।

सेनोटाफमा राजा चार्ल्स तृतीयको नेतृत्वमा श्रद्धाञ्जली
लन्डनको ह्वाइटहलस्थित ऐतिहासिक सेनोटाफ स्मारकमा आयोजित राष्ट्रिय स्मरण समारोहको नेतृत्व बेलायतका राजा चार्ल्स तृतीयले गरेका थिए । उहाँले युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्मानमा स्मारकमा पहिलो पुष्पहार अर्पण गर्नुभयो ।
बिहान ११ बजे उपस्थित सबैले दुई मिनेट मौनधारण गरी वीर सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । राजकुमार विलियमसहित शाही परिवारका अन्य सदस्यहरूले पनि पुष्पहार अर्पण गरेका थिए ।
समारोहमा बेलायतका प्रधानमन्त्री एन्डी बर्नहर्म, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक नेताहरू, सैनिक अधिकारीहरू, कूटनीतिक प्रतिनिधिहरू तथा विभिन्न कमनवेल्थ देशका प्रतिनिधिहरूको उपस्थिति थियो । साथै नेपाली दूतावासबाट कार्यवाहक राजदूत विपीन दुवाडीको पनि उपस्थिती थियो ।
हजारौँ भूतपूर्व सैनिक, सेवारत सैनिक तथा सर्वसाधारण सहभागी भएको परेडमा भूतपूर्व सैनिकहरूले आफ्ना पदक र सम्मानसहित मार्चपास्ट गर्दै युद्धमा ज्यान गुमाएका सहकर्मी तथा वीर सैनिकहरूको सम्झना गरेका थिए । रातो पोपी फूल र पुष्पहारले सजिएको सेनोटाफ क्षेत्रको वातावरण अत्यन्त भावुक र श्रद्धापूर्ण बनेको थियो ।
पुर्खाहरूप्रति सम्मान
परेडमा नियमित सहभागी हुँदै आएका सोसाइटीका सदस्य नगेन्द्र गुरुङले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे । उनले पुर्खाहरूको त्याग र बलिदानको सम्मानमा वर्षको एक दिन समर्पित गर्नु आफ्नो कर्तव्य भएको बताए ।
त्यस्तै, केन्टबाट सहभागी भएका कविराज घिसिङले रिमेम्बरेन्स सन्डे परेड आफूले कहिल्यै नछुटाउने बताए ।
उनले भने, “रिमेम्बरेन्स सन्डे परेड कहिल्यै छुटाउँदिनँ । यो हाम्रा पुर्खाहरूप्रतिको सम्मान व्यक्त गर्ने अवसर हो । साथै बेलायती जनसमुदायलाई गोर्खाहरूको पनि यस राष्ट्रिय स्मरण कार्यक्रममा समान र गौरवपूर्ण सहभागिता रहेको छ भन्ने देखाउने अवसर पनि हो ।”
बाबाको कोट र पदकमा सजिएर सेनोटाफमा मार्चपास
यस वर्षको परेडमा सहभागी बीजीडब्लूएसका सदस्य तुलबहादुर पुनका लागि यो अनुभव अझ विशेष र भावनात्मक रह्यो । उनले आफ्ना स्वर्गीय पिताका पदकहरू र झन्डै ४९ वर्ष पुरानो ट्विड ओभरकोट (Tweed Overcoat) लगाएर सेनोटाफमा मार्चपास गरेका थिए ।
आफूसँग व्यक्तिगत रूपमा कुनै पदक नभएकाले पिताको विरासतलाई सम्मान गर्दै उहाँकै पदक र पुरानो कोट लगाएर सहभागी हुने निर्णय गरेको पुनले बताए ।
सुरक्षाका कारण रेलयात्राका क्रममा पदक र कोट लगाएर जान केही असहज महसुस भएकाले उनले सुरुमा ती सबै सामग्री झोलामा राखेर घरबाट निस्केका थिए । चेरिङ क्रस स्टेसन पुगेपछि हजारौँ दर्शक र पदकले सजिएका भूतपूर्व सैनिकहरूको उपस्थिति देखेर उनी उत्साहित भए । त्यसपछि पिताको कोट र पदक गर्वका साथ पहिरिएर अघि बढे । उनका अनुसार त्यस क्षण आफूले केवल आफ्नो पहिचान मात्र नभई स्वर्गीय पिताको इतिहास, सेवा र विरासतसमेत बोकेर हिँडिरहेको अनुभूति गरेका थिए ।
कार्यक्रमस्थलको प्रवेशद्वारमा सुरक्षा जाँचका क्रममा अग्रिम बुक गरिएको टिकट र फोटो परिचयपत्र देखाउनुपर्ने व्यवस्था थियो । त्यही क्रममा स्कटल्यान्डबाट आएका एक दम्पतीले गोर्खाहरूको मार्चपास हेर्नकै लागि लामो यात्रा गरेर आएको तर टिकट नभएकाले प्रवेश गर्न नपाएको भन्दै सहयोग मागेका थिए ।
श्रीमानले आफ्नो स्कटिस किल्ट र टोपीमा खुकुरीका ब्याज सजाएका थिए । तर सुरक्षाका कडा नियमका कारण पुन र उनका साथीहरूले प्रवेश गराउन सहयोग गर्न सकेनन् । उनीहरूलाई प्रवेशद्वारमै पुनः प्रयास गर्न सुझाव दिए ।
पछि ती दम्पती दर्शकका रूपमा परेड हेर्न सफल भए । मार्चपासका क्रममा पुनलाई देखेपछि उनीहरूले हात हल्लाएर अभिवादन गरे । पुनले पनि अभिवादन फर्काए । उनका अनुसार ती दम्पती झन्डै दुई घण्टासम्म गोर्खाहरूको मार्चपास हेरेर बसेका थिए । गोर्खाहरूप्रतिको उनीहरूको आत्मीयता र सम्मानले आफूलाई निकै भावुक बनाएको पुनले बताए ।

हजारौँ दर्शकको तालीबीच गोर्खालीहरूको मार्चपास
लामो प्रतीक्षापछि मार्चपास सुरु भयो । हजारौँ दर्शकको ताली र अभिवादनका बीच गोर्खाली टोलीले शिर उच्च राख्दै गर्वका साथ मार्चपास गर्यो । गोर्खा ह्याट, आकर्षक पोसाक र छातीभरि सजिएका पदकले गोर्खालीहरूको छुट्टै पहिचान झल्काइरहेको थियो ।
पुनका अनुसार त्यहाँ उपस्थित बेलायती तथा अन्य देशका भूतपूर्व सैनिकहरूले गोर्खाहरूसँग आत्मीयतापूर्वक कुराकानी गरेका थिए । कतिपयले ‘नमस्ते’ भन्दै अभिवादन गरे भने केहीले गोर्खालीहरूसँग तस्बिर खिच्न र उनीहरूले लगाएका पदकका विषयमा जानकारी लिन चासो देखाएका थिए ।
कार्यक्रमका क्रममा बीबीसी टेलिभिजनले पनि प्रत्यक्ष प्रसारणमार्फत गोर्खालीहरूको सहभागिता र योगदानबारे विशेष चर्चा गरेको पुनले बताए । यसले आफूहरू मात्र नभई समग्र गोर्खा समुदायलाई गौरवान्वित बनाएको उनको अनुभव छ ।
गोर्खा स्मारकमा श्रद्धाञ्जली र दुई मिनेट मौनधारण
सेनोटाफमा आयोजित मुख्य समारोह तथा मार्चपासपछि बीजिडब्लुएसको टोली गोर्खा स्मारकतर्फ प्रस्थान गरेको थियो । त्यहाँ पाइपर कृष्ण राईको मधुर धुनबीच गोर्खा पुर्खाहरूको योगदान, वीरता र बलिदानको स्मरण गर्दै पुष्पहार अर्पण गरियो । त्यसपछि दुई मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरियो ।
सोसाइटीले यस वर्ष पनि तीन चरणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको थियो । पहिलो चरणमा सेनोटाफमा, दोस्रो चरणमा गोर्खा स्मारकमा र तेस्रो चरणमा बेलायतका प्रथम गोर्खा भिक्टोरिया क्रस विजेता कुलवीर थापा मगरको सालिक, अल्डरसटमा पुष्पहार अर्पण गरिएको थियो ।
अन्तिम चरणको कार्यक्रम सम्पन्न भएपछि सहभागीहरू फार्नबरोस्थित गोर्खा भवन फर्किएका थिए । त्यहाँ फ्रेस मेसिङ (Fresh Messing) सहितको सामूहिक भेटघाटपछि कार्यक्रम समापन भएको थियो ।
अध्यक्ष देवानले सहभागी सदस्यहरुलाई धन्याबाद दिदै भने,"ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीको निरन्तर सहभागिताले बेलायती समाजमा गोर्खाहरूको ऐतिहासिक योगदान, पहिचान र सम्मानलाई थप उजागर गरेको छ । रिमेम्बरेन्स सन्डे केवल विगतका युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्झना गर्ने दिन मात्र नभई नयाँ पुस्तालाई त्याग, साहस, सेवा र बलिदानको महत्त्व बुझाउने अवसर पनि हो । एक दिन जसै पनि आउँनुपर्दछ ।"
यस पटक बिजीडब्लूएसको स्टायन्डर बेरियर ओम काउचा थापाले गरेका थिए । गोर्खालीहरूको गौरवपूर्ण सहभागिता र पुर्खाहरूप्रतिको श्रद्धाले यस वर्षको स्मरण दिवसलाई थप अर्थपूर्ण बनाएको छ ।