पोखरा । समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको १६औं स्मृति दिवसका अवसरमा थकाली सेवा समिति नदीपुर–३, पोखरा पुरस्कृत भएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित एक समारोहबीच संस्थालाई १० हजार ११० रुपैयाँ नगदसहित उक्त पुरस्कार अर्पण गरिएको हो । विभिन्न क्षेत्रमा रहेका थकाली समुदायको हकहित, संस्कृति संरक्षण र सामाजिक कल्याणका लागि २०११ सालदेखि पोखरामा सक्रिय रही संस्थाले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारी, बिम्बकवि रमेश श्रेष्ठ, गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का बिखर्ची र कोषका संस्थापक विश्वमोहन गौचनलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । सम्मानित संस्था थकाली सेवा समिति गण्डकीका अध्यक्ष तेजेन्द्र तुलाचनले सामाजिक संघसंस्थाका लागि प्राप्त हुने सम्मान मूल्यसँग तुलना नहुने बताउँदै यो पुरस्कार संस्थाका लागि बहुमूल्य रहेको धारणा राखे ।
उनले समाजको भवन स्थापनाकालको स्मरण गर्दै सिद्धि गौचनलाई व्यक्ति एक व्यक्तित्व अनेक भएकी प्रतिभाका रूपमा चिनाए । बिम्बकवि रमेश श्रेष्ठले पोखराकी पहिलो महिला वडाध्यक्ष सिद्धि गौचनले तत्कालीन सभ्य समाज र विकास निर्माणमा पुर्याएको योगदानको चर्चा जति गरे पनि कमै हुने बताए ।
अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले जुन घरपरिवारमा महिलाको सम्मान हुन्छ त्यो स्वर्ग समान हुने बताए । इन्द्र–हुमा वाङ्मय कोषका संस्थापक सविन जिसीले समाजमा स्तुत्य कार्य गरेका परिवारजनको योगदानको स्मरणका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए । प्राडा यमबहादुर पौडेल क्षेत्रीले थकाली समुदायबीचको एकता, आपसी सद्भाव र व्यवसायप्रतिको लगाव सबैका लागि प्रेरणापरक भएको धारणा राखे । प्रतिभा चयन समितिका संयोजक कृष्णप्रसाद पौडेलले गौचन परिवारबाट स्थापित अक्षयकोषको आर्जित ब्याजबाट यसअघि बसन्त ताम्रकार, रामकली खड्का र हिमाली सांस्कृतिक परिवार सम्मानित भइसकेको जानकारी गराए । प्रतिभा चयनका लागि पौडेलको संयोजकत्वमा साहित्यकार दुर्गाबहादुर शाह बाबा र लोकनृत्य निर्देशक बबिता गुरुङ रहेको ३ सदस्यीय समिति गठन गरिएको थियो ।
समारोहमा गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का बिखर्ची, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, थकाली सेवा समितिका सल्लाहकार हरिध्वज तुलाचन, निवर्तमान अध्यक्ष रुजिन्द्र तुलाचन, प्राध्यापक ज्योति भट्टचन र लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहकी अध्यक्ष भगवती गुरुङले मन्तव्य राखेका थिए । उनीहरूले महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, पाककला, साहित्य र संगीतलगायतका विविध आयाममा गौचनले विदेशमा सिकेर आएको ज्ञान र सीपले सिंगो समुदायलाई व्यवसायमा लाग्न प्रेरित गरेको योगदानको स्मरण गरे । कार्यक्रममा साहित्यकारहरू छविलाल आचार्य, विष्णुप्रसाद बास्तोला र टेकनाथ पीडितले रचनावाचन गरेका थिए ।