

भूमिराज राई
बेलायत । बेलायतमा रहेका किरात राई समुदायको साझा सम्पत्ति किरात राई हाउसमा सञ्चालित एउटा महत्वपूर्ण पूर्वाधार परियोजना सम्पन्न भएको छ।
किरात राई माङखिम एन्ड साकेला म्यानेजमेन्ट कम्युनिटी इन्ट्रेस्ट कम्पनी (CIC) ले जनाएअनुसार साकेला नाच्ने मुख्य थान र पछाडिको दलदले जमिनबीचको खुला नालीमाथि पाइप बिछ्याएर दुईवटा जमिनलाई जोड्ने र प्रवेशद्वारको सडक फराकिलो बनाउने काम सकिएको हो।
किरातीहरुको माङ्खिम बनाउन किन्दा नै किरात राई हाउस, ग्याम्बल्स लेनमा पानी बग्न सहज होस् भनेर निर्माण गरिएका गहिरा र फराकिला कुलेसाहरुका कारण ठूलो र फराकिलो जमिन विभिन्न भागमा बाँडिएको थियो। जसका कारण किरात राईहरुको उभौली, उधौली जस्ता ठूला चाडहरुमा पार्किङ र कारहरु आवतजावत गर्दा साँघुरो हुने समस्या रहँदै आएको थियो। त्यसलाई निवारण गर्न यो प्रोजेक्ट सञ्चालन गरिएको थियो।
CIC का तर्फबाट कार्यकारी निर्देशक धन राईको संयोजकत्वमा उक्त परियोजना गत २४ अक्टोबर २०२६, शनिबार सुरु भई २६ अक्टोबर २०२६, सोमबार सम्पन्न गरिएको हो।
अनुदानबाट प्राप्त पाइपबाट निर्माण
यस परियोजनाका लागि प्रयोग गरिएका ड्रेनेज पाइपहरू बेलायत सरकारको National Highways UK अन्तर्गतको M25 Junction 10 Project बाट अनुदानस्वरूप प्राप्त भएका हुन्।
कार्यकारी निर्देशक राईले पाइप उपलब्ध गराउन सहयोग गर्ने M25 Junction 10 Project मा कार्यरत इन्जिनियर आफ्ना भान्जा इन्जिनियर युदिप राई प्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। पारदर्शिताका लागि आफूले परियोजनाका तस्बिर तथा भिडियोहरू पनि साझा गरेको उनले बताएका छन्।
"मेरो उद्देश्य कुनै व्यक्तिगत स्वार्थ नभई आफ्नो ज्ञान, सीप र विवेकले भ्याएसम्म समुदायको हितमा योगदान पुर्याउनु हो। यही भावनाका साथ CIC का बोर्ड अफ डाइरेक्टरहरू हाम्रो समुदायको साझा सम्पत्ति, संस्कृति र पहिचानको संरक्षण तथा विकासका लागि निरन्तर प्रयासरत छौँ।"
- धन राई, कार्यकारी निर्देशक (CIC)
प्रोजेक्ट अवलोकन पछि किराया युके अध्यक्षको प्रतिक्रिया
परियोजनाको स्थलगत अवलोकनपछि किराया युकेका वर्तमान अध्यक्ष मेजर (अवकाश प्राप्त) भुपजित पुमा राईले यसलाई उत्कृष्ट पहलको संज्ञा दिएका छन्।
किरात राई हाउसबाट जारी गरिएको तस्बिर सहितको सन्देशमा उनले भनेका छन्, "मैले मुख्य साकेला क्षेत्र र पछाडिको दलदले जग्गा बीचको नालीमा PVC पाइप बिछ्याउने र प्रवेशद्वारको सडक फराकिलो बनाउने भर्खरै सम्पन्न भएको परियोजना देखेको छु। यो एउटा उत्कृष्ट पहल हो जसले हाम्रो जमिनलाई सबैका लागि अझ पहुँचयोग्य, व्यावहारिक र सुरक्षित बनाउनेछ।"
उनले कार्यकारी निर्देशक धन राई र उनको सम्पूर्ण टोलीलाई कडा परिश्रम, समर्पण र प्रतिबद्धताका लागि बधाई दिँदै अन्य निर्देशकहरूको भौतिक सहयोग, हौसला र नैतिक समर्थनको पनि प्रशंसा गरेका छन्।
उनका अनुसार यी सुधारहरूको सकारात्मक प्रभाव आगामी **मे २०२७ मा हुने उभौली साकेला उत्सव**मा देख्न सकिनेछ। उक्त परियोजना समुदायमा औपचारिक रूपमा मे २०२७ मा प्रस्तुत गरिने जनाइएको छ।
जानकारीका लागि: किरात राई यायोक्खा बेलायतको वार्षिक कार्यक्रम तालिका २०२६-२०२७
स्रोत: किरात राई यायोक्खा बेलायत, केन्द्रीय कार्यसमिति (स्था: २००४)
क) प्रस्तावित बैठकहरू
१. प्रथम बैठक - शनिबार, १० अक्टोबर २०२६
२. प्रथम त्रैमासिक बैठक - शनिबार, १९ डिसेम्बर २०२६
३. दोस्रो त्रैमासिक बैठक - शनिबार, २० मार्च २०२७
४. साकेला उभौली निर्णायक बैठक - शनिबार, २४ अप्रिल २०२७
५. तेस्रो त्रैमासिक बैठक - शनिबार, १९ जुन २०२७
६. विधान बैठक - आइतबार, १८ जुलाई २०२७
७. अधिवेशन तयारी बैठक - शनिबार, २८ अगस्ट २०२७
८. १२औं अधिवेशन - शनिबार, १८ सेप्टेम्बर २०२७
ख) संस्थाका चाडहरू तथा कार्यक्रमहरू
१. उधौली साकेला - शनिबार, २६ डिसेम्बर २०२६ (वास्तविक मिति: सोमबार २३ डिसेम्बर २०२६)
२. यलेदोङ (यले सम्बत्) ५०८७ - शनिबार, १६ जनवरी २०२७ (वास्तविक मिति: शुक्रबार १५ जनवरी २०२७)
३. किरात राई यायोक्खा युके स्थापना दिवस - शनिबार, ०३ अप्रिल २०२७
४. उभौली साकेला पितृ पूजा - बिहीबार, २० मे २०२७
५. उभौली साकेला २०२७ - शनिबार, २२ मे २०२७ (वास्तविक मिति: बिहीबार २० मे २०२७)
६. यलम्बर हाङ स्मृति दिवस - शनिबार, ३१ जुलाई २०२७ (वास्तविक मिति: आइतबार ०१ अगस्ट २०२७)
७. Educational Day for youth - शनिबार, १० अप्रिल २०२७
८. Social Lunch (curry) with neighbours - आइतबार, ०२ मे २०२७