लन्डन । तमु धीं यूकेको साधारणसभा तथा अधिवेशन आगामी १२ डिसेम्बरमा हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।
साधारणसभा तथा अधिवेशन १२ डिसेम्बरमा बिहान ११ बजे मिचेटस्थित तमु धीं भवनमा हुनेछ । एकेन्द्र गुरुङको नेतृत्वमा रहेको निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको हो । समितिमा मेजर रिटायर्ड कृष्ण गुरुङ र धनबहादुर गुरुङ सदस्य छन् ।
तालिकाअनुसार ३ डिसेम्बर साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । ४ डिसेम्बर बिहान ११ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिने छ । ५ डिसेम्बरमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।
यसैगरी, ५ डिसेम्बरमा बिहान १० बजे उम्मेदवारी मनोनयनपत्र दर्ता, दिउँसो १२ बजे उम्मेदवारको नामावली प्रकाशन र दिउँसो २ः३० बजे उम्मेदवारीमाथि दाबी विरोधको कार्यक्रम तय गरिएको छ ।
सोही दिन साँझ ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान कार्यक्रम भने १२ डिसेम्बरमा दिउँसो ४ बजे तय गरिएको छ ।
उम्मेदवारी शुल्कसमेत निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि २०० पाउन्ड तथा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका लागि १५० पाउन्ड शुल्क तोकिएको छ । त्यसैगरी, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र खेलकुद विभाग प्रमुखका लागि १०० पाउन्ड शुल्क निर्धारण गरिएको छ । सदस्यका लागि भने १० पाउन्ड शुल्क तोकिएको छ ।

उम्मेदवारले एक जना प्रस्तावक र एक जना समर्थकको हस्ताक्षरसहित मनोनयनपत्र बुझाउनुपर्नेछ । उम्मेदवारीसम्बन्धी फाराम दर्ता तथा फिर्ता गर्ने प्रक्रिया निर्वाचन समितिको सम्पर्क कार्यालयमा उपस्थित भएर पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ । निर्वाचनसम्बन्धी विवाद वा अस्पष्टता उत्पन्न भएमा निर्वाचन समितिको निर्णय अन्तिम हुने जनाइएको छ ।
जुमकाजी गुरुङको नेतृत्वमा रहेको हालको कार्यसमितिको कार्यकाल २६ डिसेम्बरमा आयोजना हुने ल्होछार कार्यक्रमका अवसरमा समापन हुनेछ ।