ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज बेलायतले ताप्लेजुङका क्यान्सर, मिर्गौला तथा मेरुदण्डसम्बन्धी समस्याबाट पीडित तीन जनाको उपचारका लागि एक लाख ६० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
समाजले मङ्गलबार सदरमुकाम फुङ्लिङमा पीडित परिवारका प्रतिनिधिलाई रकम हस्तान्तरण गरेको हो । फुङ्लिङ नगरपालिका–६ का दिनेश मादेनलाई ८० हजार रुपियाँ तथा मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका मिङ्मा खाङ्डु शेर्पा र मिङ्मा छेम्बी शेर्पालाई जनही ४० हजार रुपियाँ सहयोग उपलब्ध गराइएको हो ।
मादेनका प्रतिनिधि मनकुमार मादेन र मिङ्मा खाङ्डुका प्रतिनिधि सन्तोष शेर्पालाई संस्थाका महासचिव दिनेश लिङ्खिमले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
मादेनको मेरुदण्डमा समस्या देखिएपछि काठमाडौँमा उपचार भइरहेको छ । यस्तै, मिङ्मा खाङ्डु मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन् । मिङ्मा छेम्बी घाँटीको क्यान्सरको उपचार गराइरहेका छन् ।
उपचारका क्रममा आर्थिक समस्या झेलिरहेका परिवारलाई सहयोग रकमले केही राहत पुग्ने विश्वास समाजले लिएको महासचिव लिङ्खिमले बताए । हस्तान्तण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङवा, ताप्लेजुङ जिल्ला शाखाका अध्यक्ष सुवाश आचार्य, पूर्वअध्यक्षद्वय राजेन्द्र श्रेष्ठ र खगेन्द्र अधिकारीसहित जिल्लाका पत्रकारहरूको उपस्थिति थियो ।
ताप्लेजुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका युवाहरूको साझा संस्थाका रूपमा सन् २०२२ मा स्थापना भएको समाजले जिल्लाका विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको छ ।
समाजले स्थापना भएदेखि हालसम्म विभिन्न व्यक्ति तथा परिवारलाई गरी ४६ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ ।