पोखरा । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता २६औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आगामी माघ ५ गतेदेखि १६ गतेसम्म पोखरामा आयोजना हुने भएको छ।
पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गर्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजनामा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो। क्लबले २६ वर्षदेखि निरन्तर रुपमा यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यस प्रतियोगिताको मुख्य प्रायोजक हिम श्री फुड्स प्राइभेट लिमिटेडको उत्पादन आहा रारा तयारी चाउचाउ रहेको छ। त्यस्तै प्रतियोगिताको संरक्षकत्व पोखरा महानगरपालिकाले गरेको छ। प्रतियोगिता सञ्चालनमा राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद र अखिल नेपाल फुटबल संघको सहयोग रहेको छ।
नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघले पनि प्रतियोगितालाई सहयोग गरेका छन्। त्यसैगरी लुम्बिनी विकास बैंक, नमस्ते एजुकेशन कन्सल्टेन्सी र बुद्ध एयरले पनि यसमा सहकार्य गरेका छन्। सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाले प्रतियोगिता आयोजनामा सहयोग पुर्याएका छन्। समाजसेवी, लोक दोहोरी गायक तथा कानुन व्यवसायी देव गुरुङ (हङकङ) ले पनि प्रतियोगितालाई सहयोग गरेका छन्। सर्वोत्कृष्ट राष्ट्रिय वर्ष खेलाडी पुरस्कारको प्रायोजन मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन्।
‘प्रतियोगितामा सहभागी हुने टिमहरु, खेल तालिका, पुरस्कार राशि र प्रायोजकका विवरणहरु उपयुक्त समयमा सार्वजनिक गरिनेछ,’ आयोजक क्लबले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न क्लबले आवश्यक तयारी अघि बढाउनेछ।’ पोखराको फुटबल विकास, खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको छ।
प्रतियोगिताले प्रतिभाशाली खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। यसले पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्न समेत मद्दत पुर्याउनेछ। ‘नेपाली फुटबलको विकास र पोखराको गौरवका लागि हाम्रो साझा अभियान—२६औँ आहा रारा पोखरा गोल्डकप–२०८३,’ भन्दै क्लबले प्रतियोगितालाई सफल बनाउन सबैको निरन्तर सहयोग, सद्भाव र सहभागिताका लागि अपिल गरेको छ।
प्रतियोगितालाई सफल बनाउन विगतमा सहयोग पुर्याउने मुख्य प्रायोजक, सहप्रायोजक, सहयोगी संघसंस्था, खेलप्रेमी, सञ्चारकर्मी, दर्शक तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति सहारा क्लब पोखराले आभार व्यक्त गरेको छ।