पोखरा । गुरुङ समुदायको संस्कृति, पारिवारिक सम्बन्ध र पुस्ताबीचको वैचारिक द्वन्द्वलाई समेटेर निर्माण गरिएको पारिवारिक हास्य तथा भावनात्मक चलचित्र ‘मलाय क्रमु’को छायाङ्कन सकिएको छ ।
पिटर गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायाङ्कन असोज ७ गते लमजुङको बेसीसहरबाट शुभमुहूर्त गरी सुरु गरिएको थियो । लमजुङकै घनपोखरा र भुजुङमा छायाङ्कन गरेपछि पुनः बेसीसहर फर्किएर चलचित्रको छायाङ्कन पूरा गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता खेमेन्द्र गुरुङ हुन् ।
गुरुङ समुदायमा हजुरबुबा–हजुरआमाले सन्तानलाई आशीर्वाद दिँदा प्रचलित ‘छोराछोरीको इच्छा बाबा–आमाले पूरा गर्छन्, बाबा–आमाको इच्छा छोराछोरीले पुर्याउँछन्’ भन्ने मान्यतालाई चलचित्रले मुख्य विषय बनाएको छ । अभिभावकका अधुरा सपना, सन्तानबाट राखिने अपेक्षा र फरक पुस्ताबीच उत्पन्न हुने वैचारिक मतभेदलाई हास्य तथा भावनात्मक ढङ्गले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र अभिभावकका इच्छाले सन्तानको जीवनमा पार्ने प्रभावलाई कथामा समेटिएको छ । मनोरञ्जनसँगै परिवारभित्रको सम्बन्ध, जिम्मेवारी र पुस्तागत सोचबारे दर्शकलाई सोच्न प्रेरित गर्ने अपेक्षा चलचित्रले गरेको छ ।
चलचित्रमा समावेश गीत–सङ्गीतलाई नेपाली लोकसङ्गीतको मौलिकतामा आधारित बनाइएको छ । गीतमा सर्जक, गीतकार, सङ्गीतकार तथा गायक आरके गुरुङले सङ्गीत दिएका छन् । गायनमा उनलाई चर्चित गायिकाद्वय अनु चौधरी र उषा गुरुङले साथ दिएका छन् । गीतका शब्द पनि आरके गुरुङकै रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा विष्णुहरि तिमल्सिनाले छायाङ्कन गरेका छन् भने जलन गुरुङले लोकेसन साउन्ड रेकर्डिङको जिम्मेवारी सम्हालेका छन् । तोसित घताने मुख्य सहायक निर्देशक र उदित गेलाल सहायक निर्देशकका रूपमा रहेका छन् । राजकुमार गुरुङले मेकअप तथा श्याम गुरुङ र रुपेश गुरुङले ग्याफरका रूपमा योगदान दिएका छन् ।
चलचित्रमा मनोज गुरुङ, मनिका गुरुङ, धनकुमारी गुरुङ (काशी), मन्जु गुरुङ, गजेन्द्र गुरुङ, खेम जंग गुरुङ, रेशम गुरुङ, प्रतीक जंग तामाङ, बुद्धि माया गुरुङ, आयुष गुरुङ, समिर गुरुङ, मुक्त जंग गुरुङ, कामना तामाङ, देबी काशी गुरुङ, लिल काशी गुरुङ र लेख काशी गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
गुरुङ समुदायको सांस्कृतिक पहिचान र पारिवारिक जीवनका विविध पक्षलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको ‘मलाय क्रमु’ले मौलिक कथा र हास्यरसको संयोजनमार्फत दर्शकमाझ पुग्ने अपेक्षा निर्माण पक्षको छ ।