काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने बताएका छन् । बडादसैँ २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
देश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले दसैँ पर्वको मौलिकता र सांस्कृतिक महत्त्वमाथि प्रकाश पारेका छन् । ‘आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ, आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ,’ उनले भनेका छन् । देशलाई सुशासनको मार्गमा हिँडाउन र नागरिकको सुखद जीविकातर्फ वर्तमान सरकार अहोरात्र खटिरहेको उनले उल्लेख गरेका छन् ।
यस वर्ष रसुवा, नुवाकोट र गोरखा लगायतका स्थानमा गएका प्रलयकारी बाढीपहिरो र विनाशको शोकबीच दसैँ आएको उनले बताएका छन् । प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सिङ्गो देशको तर्फबाट शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । विस्थापित नागरिकहरूको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको उनले जानकारी दिएका छन् ।
दसैँले पारिवारिक मिलन, सद्भाव र आफन्तजनको सामीप्य साटासाट गर्ने अवसर जुराए पनि रित्तिएका गाउँघर र विदेशिन बाध्य युवाहरूको पीडालाई पनि बिर्सन नहुने उनले औँल्याएका छन् । ‘हरेक दिन बाध्यताले विदेशिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ,’ उनले सन्देशमा भनेका छन् ।
असत्यमाथि सत्यको र आसुरी प्रवृत्तिमाथि दैवी विजयको प्रतीकका रूपमा मनाइने दसैँले मानिसभित्रका काम, क्रोध, लोभ, ईर्ष्या र अहंकारमाथि विजय प्राप्त गर्ने प्रेरणा दिने उनले विश्वास व्यक्त गरेका छन् । नेपाली समाजमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न सांस्कृतिक एवं धार्मिक गतिविधिसाथ उल्लासपूर्वक दसैँ मनाउने परम्परा रहेको छ ।