पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरी गाउँकी छिरिङ डोको गुरुङ संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ‘१०० महिला नायिका’ को सूचीमा छनोट भई सम्मानित भएकी छन् । महिला कृषि तथा ग्रामीण विकास क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत उनी यो अन्तर्राष्ट्रिय सम्मानका लागि छनोट भएकी हुन् ।
एफएओ मुख्यालय इटालीको रोममा अक्टोबर १२ देखि १६ सम्म आयोजित विशेष सम्मान समारोहमा गुरुङ सहभागी भइन् । विश्वभरका १३१ भन्दा बढी देशबाट प्राप्त ६०० भन्दा बढी महिला उद्यमीको आवेदनमध्येबाट उनी छानिएकी हुन् । नेपालको कृषि र ग्रामीण विकासमा प्रेरणादायी काम गरेको भन्दै एफएओले उनलाई छनोट गरेको हो । कार्यक्रममा सहभागिताका लागि आवश्यक कागजी प्रक्रियामा नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयले सहजीकरण गरिदिएको उनले बताइन् ।
पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चमा पुगेकी गुरुङले विभिन्न देशका महिला उद्यमीहरूसँग अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर पाइन् । ‘हिमाली जिल्लामा आफूले गर्दै आएको कृषि खेतीबारे विश्वभर जानकारी गराउने अवसर पाएकी छु,’ गुरुङले भनिन्, ‘यो अन्तर्राष्ट्रियस्तरको सम्मानले थप हौसला मिलेको छ ।’ एफएओमा प्राप्त ज्ञान र अनुभवलाई गाउँमै कृषि आधुनिकीकरणका लागि उपयोग गर्ने योजना उनको छ ।
गुरुङ अहिले हिमाली क्षेत्रकी सफल र अगुवा महिला कृषि उद्यमीका रूपमा स्थापित छिन् । उनी व्यावसायिक स्याउ खेती र च्याङ्ग्रापालन तथा बिक्रीबाट वार्षिक ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् । घरायसी खर्च जुटाउन करिब १० वर्षअघि १ रोपनी क्षेत्रफलबाट खेती सुरु गरेकी उनले अहिले ८० रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिको स्याउ, स्थानीय प्रजातिका स्याउ र च्याङ्ग्रापालन फैलाएकी छन् ।
सुरुमा खेती गर्दा ‘बेकारमा लगानी गरेको’ भनेर खिसी गर्नेहरू अहिले उनको प्रगति देखेर चकित पर्ने गरेका छन् । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दा तिरी गाउँका करिब १३ घरधुरी विस्थापनको जोखिममा छन् । यस्तो कठिन अवस्थामा पनि गुरुङले गाउँमै व्यावसायिक कृषि र पशुपालन निरन्तर अघि बढाएकी छन्। उनको यो संघर्षले ग्रामीण क्षेत्रमा उद्यमशीलतामार्फत जीविकोपार्जनको दरिलो बाटो देखाएको छ ।
यसअघि उनले २ लाख रुपैयाँ राशिसहितको ‘राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार’ र गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट ‘सर्वोत्कृष्ट कृषक’ को सम्मानसमेत पाइसकेकी छन् ।
कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार गुरुङले कृषि प्रवर्धन, प्राकृतिक स्रोत संरक्षण, समुदाय सशक्तीकरण र भावी पुस्ताका लागि अवसर सिर्जनामा महत्त्वपूर्ण योगदान दिएकी छन् । उनले अन्तर्राष्ट्रिय सूचीमा स्थान पाउनुले नेपाली महिलाको योगदानलाई विश्वभर चिनाउने अवसर मिलेको डा. अर्यालले बताए ।