काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि तमु प्ये ल्हु संघ यूकेले २६ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङ नेतृत्वमा बेलायतबाट आएको टोलीले उक्त रकमबराबरको चेक गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेको छ ।
तमु प्ये ल्हु संघ यूकेका सदस्य सूर्यबहादुर गुरुङ, धीरबहादुर गुरुङ र गमबहादुर गुरुङ, संघकी युथ एम्बेसडर सृजना गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङ, तमु प्ये ल्हु संघ नेपाल युवा समितिका सल्लाहकार शुक्रराज गुरुङ, तमु प्ये ल्हु संघ काठमाडौंका कोषाध्यक्ष श्रीप्रसाद गुरुङसहितको टोलीले बुधबार राति गृहमन्त्री निवास पुल्चोकमा पुगेर चेक हस्तान्तरण गरेको हो ।
बेलायतस्थित तमु प्ये ल्हु संघका सदस्य, तमु प्ये ल्हु संघ आमा समूह, ग्लोस्टारस्थित वुलस्टर्न गोर्खा बार एन्ड रेस्टुरेन्टमार्फत स्थानीय समुदाय समेतबाट रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको तमु प्ये ल्हु संघ यूकेले जनाएको छ ।
संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङले तमु प्ये ल्हु संघ यूके सांस्कृतिक एवं सामाजिक संस्था भए पनि मातृभूमिमा आइपर्ने सुख-दुःखमा साथ दिँदै आएको बताए । संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक तथा परोपकारी क्षेत्रमा सेवा गर्दै आएको उनले बताए ।
उनका अनुसार संस्थाले यसअघि नेपालमा गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्नुका साथै कोभिड महामारीका बेला राहत वितरण र अन्य सामाजिक तथा परोपकारी काममा पनि सहयोग गरेको छ ।
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष डेमबहादुर गुरुङले बेलायतका विभिन्न ठाउँमा बसोबास गर्ने गुरुङ समुदायले सन् २००५ मा संस्था स्थापना गरेको बताए । बेलायतमा दर्ता भई सञ्चालनमा रहेको संस्थाले गुरुङ संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै मातृभूमिको सेवामा पनि सेवा गर्दै आएको उनले बताए ।
यसैबीच तमु प्ये ल्हु संघ यूकेले गुरुङ समुदायको परम्परागत बोन धर्मलाई राज्यबाट मान्यता दिन र धार्मिक स्थलहरूको संरक्षण गर्न सरकारसंग माग गरेको छ ।
संघले गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउँदै बोन धर्म, यसअन्तर्गतका धर्मगुरु तथा धार्मिक स्थल क्व्होइँबोको संरक्षण र विकासका लागि सरकारी मान्यता र दर्ताको व्यवस्था गर्न माग गरेको हो ।