कास्की । ग्रामीण क्षेत्रमा आँखासम्बन्धी रोगको पहिचान र उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरबाट २,१४७ जना लाभान्वित भएका छन् । शिविरका क्रममा ३९३ जनामा मोतियाबिन्दु पहिचान भएको छ भने शल्यक्रियाका लागि तत्काल सिफारिस गरिएका १३४ जनामध्ये ९४ जनाको शल्यक्रिया सम्पन्न भएको छ ।
श्री देवी रमण कृष्णकुमारी स्मृति प्रतिष्ठानको आयोजनामा अप्रिल २०२६ मा सञ्चालन भएको उक्त अभियानमा हिमालय आँखा अस्पताल, पोखराले प्राविधिक सहयोग गरेको थियो । माछापुच्छ्रे गाउँपालिका, MP 12 UK, आइ केयर फाउन्डेसन नेपाल तथा GoFundMe मार्फत संकलित रकमले कार्यक्रम सञ्चालनमा आर्थिक सहयोग गरेका थिए ।
गाउँपालिकाका विभिन्न स्थानमा नौवटा आँखा परीक्षण शिविर सञ्चालन गरिएका थिए । परीक्षण गरिएकामध्ये १,१३८ जना महिला र १,००९ जना पुरुष थिए। त्यस्तै, १६ वर्षमुनिका २९० जना बालबालिकाको समेत आँखा परीक्षण गरिएको थियो । शिविरमा मोतियाबिन्दुका अतिरिक्त दृष्टिदोष, ग्लुकोमा, रेटिना तथा कर्नियासम्बन्धी रोग र अन्य आँखाका समस्या पहिचान गरिएका थिए । कुल १,४९५ जनालाई निःशुल्क आँखाको औषधि वितरण गरिएको थियो ।
ग्रामीण समुदायको सेवामा सहकार्य
कार्यक्रमले दुर्गम बस्तीका नागरिकलाई आफ्नै गाउँनजिकै आँखा परीक्षण तथा उपचारसम्बन्धी सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ । स्थानीय जनप्रतिनिधि, स्वास्थ्य संस्था, विद्यालय, सामाजिक संघसंस्था, स्वयंसेवक तथा रेडियो हेमजामार्फत गरिएको प्रचारप्रसारले समुदायको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
MP 12 UK मातृभूमिको सेवामा बेलायतस्थित युवा समूह MP 12 UK पोखरा महानगरपालिका वडा नं. १२, माटेपानीमा सक्रिय शीतलाज्योति युवा क्लबको बेलायतस्थित शाखा हो ।
माटेपानीबाट बेलायतमा बसोबास गर्दै आएका युवाहरूको सहभागितामा सक्रिय यस संस्थाले नेपालका विभिन्न क्षेत्रमा शिक्षा, जनस्वास्थ्य, सामाजिक विकास तथा आधारभूत विकासका काममा सहयोग गर्दै आएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको आँखा शिविरमा आर्थिक सहयोग गरेर MP 12 UK ले विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र नेपाली समुदायको सेवामा योगदान दिन सकिने उदाहरण प्रस्तुत गरेको छ ।
आयोजकका अनुसार यस अभियानले आँखासम्बन्धी रोगको समयमै पहिचान, उपचारमा पहुँच विस्तार र उपचार गर्न सकिने अन्धोपन न्यूनीकरणमा सहयोग पुर्याएको छ । प्रतिष्ठान, हिमालय आँखा अस्पताल, माछापुच्छ्रे गाउँपालिका, MP 12 UK र आइ केयर फाउन्डेसन नेपालबीचको सहकार्यले समुदायमा आधारित स्वास्थ्य सेवाको महत्वलाई समेत उजागर गरेको छ ।
आँखाको ज्योति जोगाउने उद्देश्यसहित सञ्चालन गरिएको यो अभियान ग्रामीण जनताको स्वास्थ्य सुधारमा सामूहिक प्रयास, सामाजिक उत्तरदायित्व र विदेशमा रहेका नेपालीको सहयोग कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण बनेको छ ।