सागर तामाङ
ललितपुर । आहा म्युजिकल फेमिलीको आयोजनामा दशैँ–तिहार २०८३ को शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । ललितपुरको सानेपास्थित न्यु मसला दरबारमा आयोजित उक्त कार्यक्रममा नेपाली गीत–सङ्गीत क्षेत्रका अग्रज स्रष्टा, कलाकार तथा नवप्रतिभाहरूको उपस्थिति रहेको थियो ।
नेपाली गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आहा म्युजिकल फेमिलीले प्रत्येक वर्ष आयोजना गर्दै आएको स्रष्टा सम्मान कार्यक्रम यस वर्ष तेस्रो संस्करणका रूपमा सम्पन्न भएको हो । यस वर्षको ‘तेस्रो स्रष्टा सम्मान–२०८३’ बाट वरिष्ठ सङ्गीतकार राजु सिंह सम्मानित भएका छन ।
आहा म्युजिकल फेमिलीले हालसम्म तीन जना वरिष्ठ स्रष्टालाई सम्मान गरिसकेको छ । सम्मान कार्यक्रमको पहिलो संस्करणमा वरिष्ठ गायक तथा सङ्गीतकार रामभक्त जोजिजूलाई सम्मान गरिएको थियो । त्यसैगरी, दोस्रो स्रष्टा सम्मान कार्यक्रम–२०८१ मा वरिष्ठ हवाईयन गिटारवादक तथा सङ्गीत प्राज्ञ ईश्वर जोशी सम्मानित हुनुभएको थियो । यस वर्ष तेस्रो संस्करणअन्तर्गत वरिष्ठ सङ्गीतकार राजु सिंहलाई सम्मान गरिएको हो ।
कार्यक्रममा आहा म्युजिकल फेमिलीका क्याप्टेन रविन्द्र श्रेष्ठ तथा को-क्याप्टेनद्वय शत्रुघन श्रेष्ठ र सुलिन गौरवको नेतृत्व रहेको थियो । वरिष्ठ गीतकार, सङ्गीतकार, गायक तथा प्राज्ञ प्रदीप लामा बोम्जन प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दोसल्ला ओढाएर ‘स्रष्टा सम्मान–२०८३’ प्रदान गरिएको थियो । आहा म्युजिकल फेमिलीका को-क्याप्टेन सुलिन गौरवले उहाँलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने प्रमुख अतिथि प्रदीप लामा बोम्जनले सम्मानपत्र तथा मायाको चिनो हस्तान्तरण गरेका थिए ।
सम्मान ग्रहणपछि सङ्गीतकार राजु सिंहले नेपाली गीत–सङ्गीतका विविध पक्षबारे आफ्नो धारणा राख्दै स्रष्टा तथा कलाकारको योगदानको महत्त्वमाथि चर्चा गरे । उनले आफूलाई सम्मान गरेकोमा आहा म्युजिकल फेमिलीप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि प्रदीप लामा बोम्जनले गीत–सङ्गीत क्षेत्रको विकास, नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा स्रष्टाहरूले पुर्याएको योगदानबारे विशेष चर्चा गरे । स्रष्टाको सम्मानले कला क्षेत्रमा सकारात्मक ऊर्जा थप्नुका साथै नयाँ पुस्ताका प्रतिभालाई अघि बढ्न प्रेरणा दिने उनको भनाइ थियो ।
यसै अवसरमा आहा म्युजिकल फेमिलीका क्याप्टेन रविन्द्र श्रेष्ठले प्रमुख अतिथि प्रदीप लामा बोम्जनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थापित गायक–गायिका तथा नवप्रतिभाशाली कलाकारहरूले आ–आफ्ना सुमधुर गीत प्रस्तुत गरेका थिए । विभिन्न सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक र सङ्गीतमय बनाएको थियो । साथै, उपस्थित स्रष्टा तथा कलाकारहरूले एकापसमा दशैँ–तिहारको शुभकामना आदानप्रदान गर्दै सुख, शान्ति, समृद्धि र खुसीको कामना गरेका थिए ।
कार्यक्रमको उद्घोषण गुराँस भट्टराईले गरेका थिए । आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले गीत–सङ्गीत क्षेत्रका अग्रज स्रष्टा तथा नयाँ पुस्ताका कलाकारहरूबीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाएको छ ।
हरेक वर्ष स्रष्टाहरूलाई सम्मान गर्दै आएको आहा म्युजिकल फेमिलीको यस पहलले नेपाली गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको कदर गर्ने परम्परालाई निरन्तरता दिएको छ । यस्ता कार्यक्रमले अग्रज स्रष्टाको योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउनुका साथै नेपाली कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।