पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ कालिका ओख्लेकोभिरमा असोज २३ गते बिहान कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको स्कुल बस बिहान ६:३३ बजे सडकबाट करिब २०० मिटर तल खसेको हो ।
दुर्घटनामा परी पोखरा २८ माझठाना बस्ने अन्दाजी १२-१३ वर्षीया ममता तिवारी, अन्दाजी १३-१४ वर्षीय अशिम कँडेल, १४ वर्षीया रुमिका नेपाली र १४ वर्षीया सुवेच्छा तिवारीको मृत्यु भएको छ । त्यसैगरी बसमा उपचारका लागि भन्दै लिफ्ट मागेर सवार ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ । ममता तिवारी, अशिम कँडेल र बाबुराम तिवारीलाई बिहान ८:३५ बजे तथा रुमिका नेपाली र सुवेच्छा तिवारीलाई बिहान ९:०० बजे अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
कक्षा १० मा पढ्ने रुमिका नेपालीको शव उनका दाजु रोशन नेपालीले र सुवेच्छा तिवारीको शव वडा सदस्य कमल थापाले सनाखत गरेका हुन् । करिब २१ जना विद्यार्थी सवार उक्त बस दुर्घटना भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा १५ जना ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेडक्वाटर कालिका गण पोखराबाट सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमको कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको थियो ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय शिशुवाबाट करिब १४ किलोमिटर उत्तरमा पर्दछ । बिहान ७:४० बजे थप उद्धारका लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक नविन कार्कीको कमाण्डमा ७ जनाको टोली पुगेको थियो ।
बिहान ८:४० बजेसम्म १९ जना घाइतेको उद्धार गरी पोखराका विभिन्न अस्पताल पठाइएको थियो । घाइतेमध्ये ३ जनाको गण्डकी मेडिकल कलेज र चालकसहित १५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
गण्डकी मेडिकल कलेजमा पोखरा २८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र पोखरा २८ डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिनाको उपचार भइरहेको छ ।
कक्षा १० मा अध्ययनरत उनीहरुको टाउको, ढाड, कम्मर र खुट्टामा चोट लागेको भए पनि अवस्था मध्यम र बोल्न सक्ने रहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा पोखरा २८ माझठानाका १५ वर्षीया अस्मी कँडेल, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगरको उपचार भइरहेको छ ।
त्यस्तै मादी गाउँपालिका १२ पहिरेका १४ वर्षीया स्नेहा खत्री र १५ वर्षीया स्मृती खत्री तथा पोखरा १५ बस्ने ५७ वर्षीय बस चालक तुलबहादुर गुरुङको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुमध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ । उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीय प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका थिए ।
पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचारपश्चात उनी बिहान ९:०० बजे डिस्चार्ज भइसकेका छन् । घटनालगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले घटनास्थल तथा घाइतेहरुको स्थिति अवलोकन गरेका छन् ।
यसैबिच पोखरा महानगरपालिकाले स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
पोखरा महानगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहेका छन् ।
त्यसैगरी समितिका सदस्यहरुमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् । गठित समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरुको विस्तृत अध्ययन तथा छानबिन गरी सत्यतथ्यसहित ५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।
यसका साथै समितिले विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत पेस गर्ने जनाइएको छ । ‘दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ नगरप्रमुख धनराज आचार्यले भने ।
घाइते सम्पूर्ण विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताए । यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न उनले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।
फोटो सन्दीप पौडेलको फेसबुक