काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई बेलायतबाट आएको नेपाली भिलेज परियोजनाको टोलीले मंगलबार भेटेको छ । परियोजनाका म्यानेजिङ डाइरेक्टर मेजर खुसीमान गुरुङ एमभिओ, बेक्रन–धम्पुस टुइनीङ एसोसिएसन यूकेका अध्यक्ष एवं मेयर डेभिड मेरिडिथसहितको टोलीले मन्त्री पौड्याललाई भेटेको हो ।
उनीहरुले मन्त्री पौड्याललाई नेपाली भिलेज यूके र बेक्रन-धुम्पुसको भगिनी सम्बन्धको बारेमा जानकारी दिएका थिए । सन् २०१९ मा कास्कीको माच्छापुच्छ्रे गाउँपालिकाको धम्पुस र बेलायतको ब्रेकन सहरबीच भगिनी सम्बन्ध स्थापित भएको थियो । भेटमा परियोजनाका निर्देशकहरु मानप्रसाद गुरुङ, जसु गुरुङ मसेन्स र मन्जु गुरुङ, बेक्रन–धम्पुस टुइनीङ एसोसिएसन नेपालका अध्यक्ष एवं कास्कीको माच्छापुच्छ्रे गाउँपालिका– ७ का वडाध्यक्ष बैकुण्ठ भण्डारी सहभागी थिए ।
मन्त्री पौड्यालले बेलायतमा बनाउन लागिएको नेपाली भिलेज सराह्रनीय काम रहेको बताएकी थिइन् । ‘हाम्रो तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं । साथै विदेशमा रहेर पनि नेपालको संस्कार, संस्कृति संरक्षण गर्नु भएकोमा आभार व्यक्त गर्न चाहन्छौं,’ मन्त्री पौड्यालले बताएको म्यानेजिङ डाइरेक्टर मेजर गुरुङले जानकारी दिए । उनका अनुसार नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अघि सारिएको नेपाली भिलेजका लागि जग्गा खरिद गरिसकिएको छ ।
मेयर डेभिडले बेक्रन-धम्पुस टुइनीङको चौथो वार्षिकोत्सवको अवसरमा नेपाल आउन पाउँदा खुसी लागेको र यो सम्बन्धलाई निरन्तरता दिने विषय मन्त्रीसमक्ष राखेका थिए । नेपाली भिलेज यूके, ब्रेकन-धम्पुस मितेरी सम्बन्धबारे परराष्ट्रमन्त्री पौड्याललाई जानकारी गराउने विषयमा नेपाली दूतावास लन्डनले समेत समन्वय गरेको थियो ।
टोलीले बुधबार दिउँसो २ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीलाई भेट्ने कार्यक्रम तय भएको छ ।