लन्डन । किरात राई यायोक्खा बेलायतले गत शनिबार ११ फेव्रअरी २०२३ को दिन अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा भव्यरुपमा वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश राईको अध्यक्षता साथै प्रमुख सल्लाहकार कल्पना राईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । वार्षिक साधारणसभामा किरात राई यायोक्खा बेलायतको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र भावी कार्ययोजनाको विषयमा छलफल गरी पारित गरिएको थियो ।
भावी कार्य योजनामा मुख्य गरेर कसरी सम्पूर्ण बेलायतवासी किराती राईहरुलाई एकताको सुत्रमा बाँध्न सकिन्छ भन्ने गहन छलफल भई १२ फेब्रुअरीमा हुन गइरहेको वार्तामा सम्पूर्ण संरक्षक समितिका सदस्यहरु, सल्लाहकारहरु र कार्यसमितिहरुसहित भाग लिने निर्णय गरेको अध्यक्ष मेजर राईले जानकारी दिए ।
बैठकमा अधिकतम लचकदा अपनाइ असन्तुष्टहरुका मागहरुलाई सम्बोधन गरी मिलाउने प्रयास गरिने निर्णय भएको अध्यक्ष मेजर योगेश राईले बताए । सभामा किरात राई यायोक्खा बेलायतका संरक्षक समितिका सदस्यहरु; डा. सुमाया राई, भगवान चाम्लिङ, नरहाङ राई, दिलबहादुर राई, नक्छो किताबशेर राई, सल्लाहकारहरु, भानुभक्त राई, टिकाधन राई, डा. प्रमोद कोयी, प्रेम राई, भिमबहादुर राई र अशोककुमार राईको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा प्राय: सबै प्रारम्भिक कार्यसमितिका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा लन्डन, अल्दरसट, बेजिङस्टक, अक्स्फोर्ड, मेडस्टोन र वकिङ्ग प्रारम्भिक कार्यसमितिका अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो शाखाका गतिविधिहरु अपडेट गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य मेजर भुपजित राईले राखेपछि राष्ट्रिय गानका साथ ठीक बिहान ११ बजे सुरु भएको थियो । कार्यक्रम सन्चालन उपमहासचिव किसन राई, सचिव उषा राई र केन्द्रीय सदस्य किसन राईले गरेका थिए । अध्यक्ष राईले शनिबार ४ मार्च २०२३ को दिन अल्डरसटस्थित प्रिन्सेस हलमा देखाउन लागिएको किराती संस्कार र संस्कृतिमा आधारित चलचित्र 'यारी'को लागि सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई चुलो निम्तो समेत दिएका थिए । चलचित्रको प्रदर्शनी ठीक २ बजे सुरु हुने र टिकट दर १५, २५ र ३५ पाउन्ड रहेको र प्रवेशद्वारमा उपलब्ध हुने जानकारीसमेत उनले गराएका थिए ।