पोखरा । पोखरास्थित धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा रुद्रकुमारी गुरुङ ‘मैना’ पुनः सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार सम्पन्न संस्थाको ११ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
सुरुमा अध्यक्ष पदका लागि रुद्रकुमारी गुरुङ र राजबहादुर गुरुङको उम्मेदवारी परेको थियो । राजबहादुरले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि रुद्रकुमारी निर्विरोध चुनिएकी हुन् । उनी विसं २०७२ देखि लगातार संस्थाको अध्यक्ष पदमा छिन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा भरतराज शाक्य, सचिवमा पूर्ण लामा, सहसचिवमा हुमबहादुर गुरुङ र कोषाध्यक्षमा श्याम शाक्य चुनिएका छन् । त्यसैगरी सदस्यहरूमा मेजर लक्ष्मीप्रसाद गुरुङ, पञ्चकुमारी गुरुङ र नरेन्द्रमान लालचन लगायत चयन भएका छन् । निर्वाचन समितिका संयोजक तथा संस्थाका सल्लाहकार शंकर गुरुङले यसबारे जानकारी दिएका हुन् ।
अधिवेशनमा प्रस्तुत वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरिएको छ । सचिव पूर्ण लामाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष श्याम शाक्य र सचिव पूर्ण लामाले पेस गरेको विधान संशोधन प्रस्तावलाई सभाले स्वीकृत गरेको छ ।
संस्थाले पोखरा महानगरपालिका वडा नम्बर ११ स्थित काँहुडाँडामा बुद्ध मण्डला निर्माणको अभियान सञ्चालन गरिरहेको छ । यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सल्लाहकार शंकर गुरुङले प्राविधिक र प्रशासनिक अड्चनका कारण अपेक्षाकृत काम हुन नसकेको बताए । उनले ‘योजना र उद्देश्य धेरै राम्रो भए पनि सोचेजस्तो काम देखिन सकेको छैन’ भन्दै नयाँ टोलीलाई छिटो काम सुरु गर्न आग्रह गरे ।
उक्त साधारणसभा संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ ‘मैना’को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा भरतराज शाक्यले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सचिव पूर्ण लामाले गरेका थिए ।