पोखरा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी १६ देखि २७ मंसिरसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। प्रतियोगिता कर्णालीका अधिकांश जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ भने महिला तथा पुरुषतर्फ गरी ३२ खेलमा प्रतिस्पर्धा गराउने तयारी छ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा करिब ६ हजार ५ सय खेलाडी सहभागी हुने अनुमान गरिएको छ। खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्राविधिक तथा अन्य पदाधिकारीको समेत सहभागिता रहनेछ।
यसबारेमा आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा समावेश खेल, प्रस्तावित खेलस्थल र तयारीबारे जानकारी दिइएको हो । प्रतियोगितामा एथलेटिक्स, कुस्ती, कबड्डी, ब्याडमिन्टन, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन, क्रिकेट, टेबलटेनिस, फुटबल, बुद्धिचाल र ह्यान्डबललगायत खेल समावेश छन्। हक्की, जुडो, ई–स्पोर्ट्स, खोखो, स्क्वास, रग्बी, सुटिङ, पौडी, साइक्लिङ, तेक्वान्दो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलन र सेपाकताक्रो पनि प्रतियोगितामा समावेश गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित खेलस्थलअनुसार अधिकांश खेल सुर्खेतमा सञ्चालन गर्ने तयारी छ। सुर्खेतमा एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई–स्पोर्ट्स, स्क्वास, रग्बी, साइक्लिङ, तेक्वान्दो, भलिबल, उसु र सेपाकताक्रो सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
दैलेखमा आईटीएफ तेक्वान्दो र बुद्धिचाल, सल्यानमा टेबलटेनिस तथा रुकुम पश्चिमको चौरजहारीमा खोखो सञ्चालन गर्ने प्रस्ताव छ। नेपालगञ्जमा सुटिङ, पौडी, भारोत्तोलन र टेनिस तथा जुम्लामा आर्चरी सञ्चालन गर्ने तयारी छ।
त्यसैगरी शारीरिक सुगठन सुर्खेत र कालिकोट, जुडो सुर्खेत र जाजरकोट, जिम्न्यास्टिक सुर्खेत र दैलेख तथा भारोत्तोलन नेपालगञ्ज र सुर्खेतमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
दशौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल सुर्खेतमा केन्द्रित हुने भए पनि अन्य जिल्लालाई समेत प्रतियोगिताका खेल आयोजनामा जोड्ने तयारी गरिएको छ। यसबाट कर्णालीका विभिन्न जिल्लामा खेलकुद गतिविधि विस्तार हुनुका साथै स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताका खेलस्थलको अन्तिम टुङ्गो र खेल तालिका भने आयोजकको औपचारिक निर्णयअनुसार तय हुनेछ । प्रतियोगितामा प्रदेश र विभागीय टोलीसँगै एनआरएनएको सहभागिता रहने भएकाले विभिन्न खेल विधामा राष्ट्रियस्तरका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।