पोखरा । मौसमविद्हरुले मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने बताएका छन् । आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
उनीहरुका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली बाँकी रहेको, बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढ्ने भएको हो ।
मौसमविद्का अनुसार आज पनि वर्षाको सम्भावना छ । आज दिउँसो काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र तराईका पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
गत २४ घण्टामा कर्णालीदेखि कोशीसम्म नै वर्षा भएको छ । खासगरी कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।
एक घण्टायता पनि लुम्बिनी प्रदेशको बर्दियाको बर्गद्धा, अर्घाखाँचीको सिमलपानी र दाङको गढवामा पानी परिरहेको छ ।
मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार केही स्थानमा तुवालोसमेत लागेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिएअनुसार मधेश, कोशी, बागमती, गण्डकीको तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।