बेलायत । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा नेपालका पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग भूतपूर्व गोर्खाको पेन्सन, वंशजको नागरिकताको निरन्तरता र गैरआवासीय नेपालीको मतदान अधिकारलगायत विषयमा अन्तरक्रिया गरिएको छ ।
बेलायतको अल्डरसटस्थित सुशिमोटो रेस्टुरेन्टमा आइतबार, अक्टोबर ४, २०२६ मा भएको कार्यक्रममा नेफिन युकेका अध्यक्ष मेजर योगेशकुमार कोयी राईले अध्यक्षता गरेका थिए । पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेको कार्यक्रम महासचिव फ्रमबहादुर दुराले सञ्चालन गरेका थिए ।
अन्तरक्रियामा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । नेफिन युकेका अध्यक्ष मेजर योगेशकुमार कोयी राई, महासचिव फ्रमबहादुर दुरा, कोषाध्यक्ष मेजर इन्द्रप्रसाद राई, संस्थापक अध्यक्ष थर्क राना मगर, निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा, नेफिन बेल्जियमका निवर्तमान अध्यक्ष वीरमान घर्ती मगर, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, गेसोका सभापति कृष्णकुमार राई, एनआरएन आइसिसिका उपाध्यक्ष विश्वासदीप तिगेला र नेपाल कम्युनिष्ट पार्टीका युवा नेता वसन्त राईले छलफलमा धारणा राखेका थिए ।
छलफलमा भूतपूर्व गोर्खाहरूको पेन्सनको समस्या, वंशजको नागरिकताको निरन्तरता र विदेशमा रहेका नेपालीको मतदान अधिकार प्रमुख विषयका रूपमा उठाइएको थियो ।
भूतपूर्व गोर्खाको पेन्सनबारे पूर्वमन्त्री पुनले नेपाल सरकार र बेलायत सरकारबीच यस विषयमा निरन्तर संवाद भइरहेको बताए । गोर्खाहरूको पेन्सनसँग सम्बन्धित विषयलाई वार्ता र संवादमार्फत अघि बढाइरहेको उनको भनाइ थियो ।
वंशजको नागरिकताको निरन्तरताका विषयमा पुनले तत्कालका लागि गैरआवासीय नेपाली (एनआरएनए) नागरिकतालाई थप व्यवस्थित गर्नुपर्ने बताए । एनआरएनए नागरिकतालाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सके पैतृक सम्पत्ति राख्न, घरजग्गा खरिद–बिक्री गर्न तथा नेपालमा निर्धक्क लगानी गर्न सहज हुने उनको भनाइ थियो ।
राजनीतिक परिवर्तन र निजामती प्रशासनमा देखिएको ढिलासुस्तीका कारण एनआरएनए नागरिकता पूर्ण रूपमा व्यवस्थित हुन नसकेको पुनले बताए । भूतपूर्व गोर्खाहरूलाई वंशजको नागरिकताको निरन्तरता दिने विषय भने संविधान संशोधनमार्फत मात्रै सम्भव हुने उनले स्पष्ट पारे ।
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा पुनले विश्वका विभिन्न देशमा इ–भोटिङ, पोस्टल भोट र इन्टरनेट भोटिङको अभ्यास रहे पनि यस्ता प्रणाली सञ्चालन गर्न ठूलो खर्च लाग्ने अध्ययनले देखाएको बताए । नेपालले त्यस्तो मतदान प्रणालीका लागि आवश्यक खर्च धान्न सक्ने वा नसक्ने विषयमा पनि विचार गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेफिन युकेका सल्लाहकार तथा एभरेस्ट टाइम्स युकेका सम्पादक दूत पुन (चिम्खोले काइला), गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, मान गुरुङ, कलाकार अस्मिता राना मगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार राना मगरले नृत्यसमेत प्रस्तुत गरेकी थिइन् ।