काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ । महाधिवेशनअन्तर्गत सोमबार केन्द्रीय कार्यसमितिको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । तीन कार्यकाल केन्द्रीय सदस्य भएर अनुभव बटुलिसकेकी युवा नेता गुरुङले यसपटक सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
उनी तेह्रथुमबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएकी छन् । आठराई गाउँपालिका-४, साविक इवामा जन्मिएकी गुरुङले तेह्रथुमबाटै विद्यार्थी राजनीति सुरु गरेकी थिइन् ।
नेपाल विद्यार्थी संघको जिल्ला कोषाध्यक्ष र नेपाल महिला संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवसम्म बनेकी गुरुङ ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । त्यही कार्यकालमा उनी ११ महिना सहरी विकासमन्त्री समेत भइन् ।
२०७४ सालको निर्वाचनमा भने उनी तेह्रथुमबाट पराजित भएकी थिइन् । दुवै संविधानसभामा सदस्य रहेकी गुरुङ २०७४ मा कांग्रेस नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भएकी थिइन् । उनले संविधान मस्यौदा समितिको सदस्य भएर समेत काम गरेकी थिइन् ।
पार्टीमा आदिवासी जनजाति विभागको प्रमुख भएर समेत काम गरिसकेकी उनी यसअघि क्रियाशील सदस्यतासम्बन्धी तत्कालीन महामन्त्री गगनकुमार थापा संयोजकत्वको कार्यदलमा सदस्य थिइन् । कांग्रेसको संगठनमा लामो समय काम गरिसकेकी गुरुङ नेपालमा सामाजिक समावेशीकरण, महिला र आदिवासी जनजाति आन्दोलन तथा सीमान्तकृत समुदायको अधिकारका सवालमा समेत निरन्तर सक्रिय रुपमा वकालत गर्दै आएकी छन् ।
कांग्रेसको विधानबमोजिम हाल ११ जना सहमहामन्त्री हुने व्यवस्था छ । त्यसमध्ये आठ जना विभिन्न समावेशी समूहबाट निर्वाचित भएर आउने छन् भने तीन जना मनोनीत हुनेछन् ।
गुरुङले महिला वा आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा आफ्नो उम्मेदवारी हुने बताएकी छन् । ‘पार्टीको नेतृत्वसँग छलफल भइरहेको छ । म महिला वा आदिवासी जनजाति दुवैतर्फ सहमहामन्त्रीको लागि तयार छु, नेताहरू र आफ्नै साथीहरूको सल्लाह सुझाव लिएर अघि बढ्नेछु,’ उनले भनिन् ।