लन्डन । बेलायतको सत्तारूढ लेबर पार्टीको हालै सम्पन्न वार्षिक सम्मेलनमा मेडवे काउन्सिल (Medway) की पूर्ब पहिलो नेपाली मूलकी मेयर, काउन्सिलर नीना गुरुङले ऐतिहासिक सम्बोधन गरेकी छिन् ।
लेबर पार्टीको इतिहासमा पहिलो नेपाली मूलकी महिला र गोर्खा समुदायबाट पहिलो डेलिगेट (प्रतिनिधि) का रूपमा सहभागी भएकी गुरुङले सम्मेलनमा पार्टीको ‘महिला र राजनीति’ (Women in Politics) विषयक संयुक्त प्रस्तावको समर्थनमा मन्तव्य राख्दै प्रवासी नेपाली तथा गोर्खा समुदायको गौरव बढाएकी छिन् ।
लीभरपुलमा आयोजित लेबर पार्टीको सम्मेलनमा पहिलोपटक वक्ताका रूपमा उभिएकी गुरुङले आफ्नो परिचय दिँदै भनीन्, “म एक गोर्खा सैनिककी छोरी, एक गर्विलो गोर्खाकी पत्नी, एक आमा, बालबालिकाको क्षेत्रमा समर्पित सामाजिक कार्यकर्ता र गोर्खा तथा नेपाली समुदायबाट पहिलो महिला सदस्य हुँ।”
गोर्खा र नेपाली समुदायको प्रतिनिधित्व
सम्बोधनका क्रममा उनले आफू जो कोक्स महिला नेतृत्व कार्यक्रम (Joe Cox Women in Leadership Programme) को उत्पादन भएको उल्लेख गर्दै राजनीतिमा महिलाहरू र अझ विशेष गरी अल्पसंख्यक समुदायका महिलाहरूले भोग्नुपरेका चुनौतीबारे स्पष्ट पारिन् ।
“महिलाहरू राजनीतिमा रित्तै हात आउँदैनन्,” उनले भनीन्, “हामीसँग हाम्रा समुदायले भोगेका यथार्थहरूको गहिरो बुझाइ, समानुभूति, दृढता, लचिलोपन र सहकार्य गर्ने क्षमता हुन्छ।”
उनले गोर्खा परिवारको पृष्ठभूमिबाट आएर बेलायती राजनीतिमा कसरी अग्रसर बनियो भन्ने कुरा स्मरण गर्दै भनीन्, “प्रजातिवाद, पितृसत्ता, सीमित सहयोग सञ्जाल र कम प्रतिनिधित्वका कारण अल्पसंख्यक समुदायका महिलाहरूले थप जटिल चुनौतीहरूको सामना गर्नुपर्छ। तर, मेडवे लेबर पार्टीको नेतृत्व र सहकर्मीहरूले दिएको साथ र हौसलाबिना म आज यहाँ उभिन सक्ने थिइनँ।”
लेबर पार्टीमा नेपाली समुदायको बढ्दो प्रभाव राजनीतिक विश्लेषकहरूले नीना गुरुङको यो सम्बोधनलाई बेलायती राजनीतिमा नेपाली मूलका समुदाय र गोर्खा परिवारहरूको बढ्दो प्रभाव र प्रगतिको एक ऐतिहासिक कोसेढुङ्गाका रूपमा हेरेका छन्।
बेलायतको स्थानीय तहदेखि राष्ट्रिय मञ्चसम्म नेपाली समुदायको प्रतिनिधित्व बढ्नुले यहाँका नीति निर्माणका तहमा नेपालीहरूको आवाज पुग्न थालेको संकेत गरेको छ।
गुरुङले आफ्नो सम्बोधनमार्फत सम्मेलनमा उपस्थित हजारौँ प्रतिनिधिहरूको ध्यान आकर्षण गर्दै ‘महिला र राजनीति’ सम्बन्धी प्रस्तावलाई एकमतले पारित गर्न आह्वान गरेकी थिइन् । उनको यो ओझपूर्ण सम्बोधनले बेलायतभर रहेका नेपाली डायस्पोरा, गोर्खा परिवारहरू र विशेष गरी राजनीतिमा आउन चाहने नयाँ पुस्ताका महिलाहरूलाई ठूलो प्रेरणा मिलेको छ।
सक्रिय समाजसेवी तथा लेबर पार्टीकी आशालाग्दी नेत्री निना गुरुङ मेडवेको पहिलो नेपाली मूलकी मेयर बन्दै ऐतिहासिक इतिहास रचेकी छिन् । ‘गोर्खा नेपाली कम्युनिटी मेडवे’ की पूर्वअध्यक्ष तथा हाल सल्लाहकार रहनुभएकी उनले आगामी दिनमा मेडवे क्षेत्रबाट प्रतिनिधि सभा (संसद) को नेतृत्व गर्ने सम्भावना उच्च छ।


