लन्डन । नेपाली खेलाडी तथा लन्डन बस चालक सन्तोष राई आइरनम्यान वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन सोमबार, २८ सेप्टेम्बर २०२६, हवाई प्रस्थान गरेका छन् । आगामी १० अक्टोबर २०२६ मा हवाईको कैलुआ–कोनामा आयोजना हुने विश्व च्याम्पियनसिपमा राईले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् ।
राईले आफ्नो सामाजिक सञ्जालमार्फत आफू हवाई पुगिसकेको जानकारी दिएका छन् । प्रतियोगिताको तयारीका लागि उनी निर्धारित समयभन्दा करिब १२ दिनअघि नै कोना पुगेका हुन् । कोनाको तातो तथा आर्द्र मौसममा शरीरलाई अभ्यस्त गराउन र प्रतियोगिताको तयारीलाई थप प्रभावकारी बनाउन उनले चाँडै हवाई पुग्ने योजना बनाएका थिए ।
गत १६ अगस्ट २०२६ मा सम्पन्न आइरनम्यान लिड्स २०२६ मा आफ्नो उमेर समूहमा दोस्रो स्थान हासिल गर्दै राईले पहिलोपटक आइरनम्यान वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएका थिए । पानीको सुरक्षासम्बन्धी कारण लिड्समा पौडी चरण रद्द भएपछि प्रतियोगिता साइकल र दौडमा सीमित भएको थियो । चुनौतीपूर्ण मौसम र कठिन भूभागका बाबजुद राईले आफ्नो उमेर समूहमा दोस्रो तथा समग्रमा ५१औँ स्थान हासिल गरेका थिए ।
यस उपलब्धिसँगै राई आइरनम्यान वर्ल्ड च्याम्पियनसिपका लागि छनोट हुने पहिलो नेपाली तथा पहिलो लन्डन बस चालक बनेका छन ।
“यो मेरो लागि अत्यन्तै गर्वको क्षण हो । समर्पण, कडा मेहनत र निरन्तरताका साथ अघि बढ्ने हो भने कुनै पनि कुरा असम्भव छैन भन्ने विश्वास दिलाउन मेरो यात्राले अरूलाई पनि प्रेरणा दिनेछ भन्ने आशा गरेको छु,” राईले यसअघि बताएका थिए ।
राई यसअघि पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। सन् २०२४ मा अस्ट्रेलियाको टाउनसभिल, नर्थ क्वीन्सल्यान्डमा आयोजित वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलनमा उनले एलिट विधामा प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी, गत वर्ष स्पेनको पोन्तेभेद्रामा आयोजित वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलनमा ४०–४४ वर्ष उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै शीर्ष १७ भित्र स्थान बनाएका थिए ।
दौडका क्षेत्रमा पनि राईको अन्तर्राष्ट्रिय परिचय छ। उनी नेपाल रन यूकेका संस्थापक हुन् । लन्डन म्याराथनको ४५औँ संस्करणमा नेपालको राष्ट्रिय पोसाक दौरा–सुरुवाल लगाएर दौड पूरा गर्दै उनले गिनिज वर्ल्ड रेकर्डसमेत कायम गरेका छन्। सन् २००९ देखि दौडमा सक्रिय राईले विश्वका प्रमुख ६ म्याराथन—लन्डन, बर्लिन, न्युयोर्क, शिकागो, बोस्टन र टोकियो—समेत पूरा गरिसकेका छन ।
अब राईको ध्यान १० अक्टोबरमा हुने आइरनम्यान वर्ल्ड च्याम्पियनसिप मा केन्द्रित छ । विश्वभरका उत्कृष्ट आइरनम्यान खेलाडी सहभागी हुने प्रतिष्ठित प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले आफ्नो ऐतिहासिक यात्रा अगाडि बढाउनेछन । 