भुमिराज राई
मेडस्टोन । बेलायती सेनाको एक विशिष्ट र गौरवशाली अङ्गका रूपमा ख्याति कमाएको क्वीन्स गोर्खा इन्जिनियर्स (QGE) ले आफ्नो स्थापनाको ७८औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
मेडस्टोनस्थित बार्टन रोडमा अवस्थित मेडस्टोन ग्रामर स्कुलमा आयोजित यस विशेष समारोहले गोर्खा फौजको ऐतिहासिक पृष्ठभूमि, सुदृढ सैन्य परम्परा र बेलायती समाजमा उनीहरूको गहिरो संलग्नतालाई उजागर गरेको छ ।
एक्स-क्यूजीई दक्षिण केन्ट कमिटीको संयोजकत्वमा सम्पन्न यस कार्यक्रममा सेवारत तथा भूतपूर्व सैनिकहरू, उनीहरूका परिवारजन र स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो ।
26 सेप्टेम्बर शनिबार दिउँसो २:०० बजे पाहुनाहरूको आगमनसँगै औपचारिक रूपमा सुरु भएको कार्यक्रमले सैनिक तथा नागरिक समुदायबीचको प्रगाढ सम्बन्धलाई थप बलियो बनाएको छ ।
क्याप्टेन (रिटायर्ड) याम पुनको अध्यक्षतामा सञ्चालित यस कार्यक्रमको व्यवस्थापनमा उपाध्यक्ष डब्ल्युओ२ (रिटायर्ड) ओम बुढा, मानार्थ सचिव (रिटायर्ड) सङ्घर्ष राई, सचिव (रिटायर्ड) फुर्तेन्जी शेर्पा, र कोषाध्यक्ष डब्ल्युओ२ (रिटायर्ड) बिनम रानालगायतका कमिटीका पदाधिकारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कल्याण सचिव मेजर (रिटायर्ड) राजेन गुरुङ र सामाजिक सचिव (रिटायर्ड) कमल गुरुङले व्यवस्थापकीय पाटोलाई सुचारू राख्न सक्रिय रुपमा योगदान पुर्याएका थिए ।
यस गरिमामय अवसरमा आरएचक्यू क्यूजीई (GM, RSM), कर्नल (रिटायर्ड) वाकर, मेजर (रिटायर्ड) मूर, सीएम क्यूजीई, लेफ्टिनेंट कर्नल (रिटायर्ड) गोच, चार्ली कोर्बेट, मानार्थ सचिव क्यूजीई तथा मेडस्टोन ग्रामर स्कुलका हेडटिचर, सीसीएफ कमन्डर र दीपक हिमाललगायत थुप्रै विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
दिउँसो १५:४० बजे शाखाको औपचारिक उद्घाटनसँगै केक काट्ने कार्यक्रम सम्पन्न भयो । जन्मोत्सवको उक्त केक 'लायन एण्ड फिडल पब' का रमेश राणाले प्रायोजन गरेका थिए। केक काट्ने कार्यक्रम पश्चात् उपस्थित सबैको सामूहिक तस्बिर लिइएको थियो ।
साँझको सत्रमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले उत्सवको माहोललाई थप जीवन्त बनाएका थिए । चर्चित रियालिटी शो 'द भ्वाइस अफ नेपाल' The Voice of Nepal सिजन ७ की विजेता निता थापा मगर र कलाकार अस्मिता रानाको सांगीतिक प्रस्तुतिमा सहभागीहरूले भरपुर आनन्द उठाएका थिए ।
कार्यक्रमको शुरुवात QGE का पाइपर द्वारा प्रस्तुत परम्परागत बागपाइपर धुनहरूले कार्यक्रममा विशिष्ट सांगीतिक ऊर्जा थपेको थियो । पाइपरले नै जन्मदिन धुन पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा केन्ट शाखाको आवश्यकता र त्यसले खेल्ने भूमिकाका बारेमा जानकारी मुलक मन्तब्य पछि राफल ड्र कार्यक्रमले उत्सवको रौनकलाई अझ परिपूर्ण बनाएको थियो ।
यस विशेष वार्षिकोत्सवका अवसरमा क्वीन्स गोर्खा इन्जिनियर्सका कमाण्डेन्ट लेफ्टिनेंट कर्नल एस ए पार आरईले जारी गर्नुभएको विशेष रुटिन अर्डरमार्फत रेजिमेन्टको लामो र संघर्षपूर्ण ऐतिहासिक यात्राको स्मरण गरिएको थियो । रिटायर्ड क्याप्टेन चेत थापाले सो पत्र पढेर सुनाउनु भएको थियो ।
सन् १९४८ को अक्टोबरमा रोयल इन्जिनियर्सअन्तर्गत पहिलो पटक गोर्खा सैनिक तथा अधिकृतहरू ट्रेनिङ स्क्वाड्रनमा भर्ना भएपछि यसको शुरुवात भएको थियो ।
तत्पश्चात विभिन्न फिल्ड स्क्वाड्रनहरूको गठन हुँदै सन् १९५५ को सेप्टेम्बर २८ मा यो इकाई आधिकारिक रूपमा 'द गोर्खा इन्जिनियर्स' बन्न पुग्यो । रेजिमेन्टको निष्ठा, बहादुरी र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै महारानी एलिजाबेथ द्वितीयबाट सन् १९७७ अप्रिल २१ मा यसलाई प्रतिष्ठित 'क्वीन्स गोर्खा इन्जिनियर्स' को उपाधि प्रदान गरिएको थियो ।
मलेसिया र बोर्निओका जङ्गलदेखि हङकङ ग्यारिजनसम्म तथा विश्वका विभिन्न द्वन्द्वग्रस्त तथा रणनीतिक क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापनामा प्रभावकारी भूमिका खेल्दै आएको यो रेजिमेन्ट हाल मेडस्टोनस्थित इन्भिक्टा पार्क ब्यारेक्समा स्थायी रूपमा आश्रित छ । ३६ इन्जिनियर रेजिमेन्टसँगको सहकार्यमा स्थानीय समुदायसँग पूर्ण रूपमा घुलमिल भएका QGE का सैनिकहरूले आज विश्वका १६ भन्दा बढी स्थानहरूमा आफ्नो व्यावसायिक दक्षता र सेवा प्रवाह गर्दै आएका छन ।
कलाकारहरुको बेजोड साँगितिक प्रस्तुति सँगै सहभागीहरुको सामुहिक रमाईलो नाचगान सहित राति ठीक २०:३० बजे कार्यक्रमको औपचारिक समापन गरियो ।
आफ्नो गौरवशाली इतिहास, वर्तमानको प्रतिबद्धता र भविष्यप्रतिको दृढ संकल्प झल्काउँदै सम्पन्न भएको कार्यक्रमले क्विन्स गोर्खा इञ्जियर्सको गौरबशाली यात्राको यात्रीहरुको सिभिलियन बाँकी जिबनमा सहयात्रा र परेको बेला एक अर्कालाई बलियो सहारा दिंदै बाँचुन्जेल QGE परिवार बनेर रहने संकल्पले सबैलाई हर्षित बनाएको थियो I
कार्यक्रमको सञ्चालनमा सचिव सङ्घर्ष राई रहेका थिए, व्यवस्थापनमा ओम बुढासहित सबैको उत्साहपूर्ण र स्वतस्फूर्त सहभागिता रहेको थियो ।
अन्तमा, अध्यक्ष रिटायर्ड क्याप्टेन याम पुनले सम्पूर्ण प्रायोजकहरू, किशोर राना - बुद्ध मोर्टगेज, मान सुनुवार - हाइड्रोनिक हटिंग , सूर्य गुरुङ - पिपल मोर्टगेज एण्ड रेस्टुरेन्ट , रमेश सारङ्कोटी - ए स्टार मोर्टगेज, क्युजीईका रिटायर्ड गोर्खा मेजरहरु, सहयोग गर्ने संघ-संस्था, व्यक्तिहरू, रेस्टुरेन्टहरू, उपस्थित कलाकार तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।


