लन्डन । बेलायतस्थित अग्रणी सामाजिक संस्था तमु समाज यूकेले नेपालका बाढीपीडितका लागि २५ लाख १ हजार १०० रुपैयाँ प्रदान गरेको छ ।
तमु समाज यूके आमा समूहकी संस्थापक अध्यक्ष एवं सल्लाहकार माया गुरुङको नेतृत्वमा रहेको टोलीले गृहमन्त्री सुदन गुरुङलाई रकमको प्रतीकात्मक चेक हस्तान्तरण गरेका हुन् ।
गृह मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमबीच बिहीबार चेक हस्तान्तरण गरिएको हो ।
प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि संकलन गरिएको उक्त रकम भने नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
२०८३ भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका साथै धादिङ, नुवाकोट, चितवनलगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगार्थ तमु समाज यूकेले विशेष राहत संकलन अभियान सञ्चालन गरेको थियो । अभियानमा समाजका सदस्य, विभिन्न सङ्घसंस्था, व्यवसायी कम्पनी तथा शुभचिन्तकले आर्थिक योगदान गरेका थिए ।
टोलीमा सल्लाहकार मायासहित तमु समाज यूकेकी पूर्वप्रथम महिला विष्णुमती गुरुङ, समाजसेवी चन्द्रबहादुर गुरुङ र माया (डोल्मा) गुरुङ थिए ।
सो अवसरमा गृहमन्त्री गुरुङलाई खादा, फेटा, भाङ्ग्रा, गलबन्दी, माला र पुष्पगुच्छाले विशेष सम्मान गरिएको थियो । गृहमन्त्रीलाई तमु परम्पराअनुसार सम्मान गर्न पाउँदा खुसी र गौरव लागेको मायाले बताइन् । ‘यहाँको कार्यकाल पूर्ण रूपमा सफल रहोस् र जनताको सेवामा यहाँले गर्नुभएका सबै प्रयास सफल हुँदै जाऊन्,’ उनले भनिन् ।
गृहमन्त्री गुरुङले विपत्तिको घडीमा बेलायतमा रहेर पनि मातृभूमिका लागि ठूलो रकम सङ्कलन गरी सरकारी कोषमा जम्मा गरेकोमा तमु समाज यूके परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।
सहयोग हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन र संकलन अभियानमा तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ र कोषाध्यक्ष चन्द्र कान्ता गुरुङले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
गृहमन्त्री गुरुङसँगको भेटघाट कार्यक्रमको समन्वय बरो अफ स्विन्डन (Borough of Swindon) का काउन्सिलर ज्ञान गुरुङले गरेका थिए । सङ्कलित रकम एकमुष्ट रूपमा नेपाल पठाउने प्रक्रियामा आयोरिमिट (AyoRemits UK) को व्यवस्थापन टोलीले विशेष सहयोग गरेको थियो ।
यसैबीच, तमु समाज युकेले बाढीपहिरोको विपत्तिमा परी ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र अझैसम्म बेपत्ता रहेका नागरिकको खोजी कार्य सफल होस् भन्ने कामना गरेको छ ।
सामाजिक सेवामा संस्थाको निरन्तरता
तमु समाज यूकेले स्थापनाकालदेखि नै बेलायतस्थित तमु तथा नेपाली समुदायबीच एकता र आपसी सद्भाव बढाउनुका साथै भाषा, संस्कार–संस्कृतिको संरक्षण र सामाजिक सेवामा निरन्तर काम गर्दै आएको छ ।
नेपालमा आइपरेका हरेक प्राकृतिक विपद्का समयमा समाजले सधैँ अग्रपङ्क्तिमा रहेर सहयोग पुर्याउँदै आएको छ । यसअघि सन् २०१५ को विनाशकारी भूकम्प, सेती नदीको बाढी तथा कोरोना महामारीका बेला पनि समाजले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण र आर्थिक सहयोग पुर्याएको थियो ।
भोटेकोशी बाढी तथा बाढीपहिरो प्रभावितका लागि गरिएको यस सहयोगलाई मातृभूमिप्रतिको अगाध आत्मीयता, भाइचारा र मानवीय सेवाप्रतिको निरन्तर प्रतिबद्धताका रूपमा लिएको छ ।
राहत अभियानमा योगदान गर्ने दाता, सदस्य, सङ्घसंस्था, कम्पनी तथा शुभचिन्तकहरूप्रति संस्थाले कृतज्ञता व्यक्त गरेको छ । साथै, रकम सङ्कलनमा खटिएका पदाधिकारी तथा सदस्य, नेपाल पुगेर चेक हस्तान्तरण गर्ने प्रतिनिधिलगायत सबैलाई धन्यवाद दिएको छ ।
-शिवकुमार गुरुङ