काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गरिने पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई दिने निर्णय गरेको छ ।
प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट ‘सलह’ छनोट भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका हुन् ।
प्रतिष्ठानका अनुसार ‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । काव्यिक भाषा, प्रतीकात्मकता, प्रकृति–चित्रण र मार्मिक कथन शैलीलाई कृतिका प्रमुख विशेषता मानिएको छ ।
त्यस्तै, पाँच दशकदेखि नेपाली साहित्यमा सक्रिय कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय भएको छ । ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक धरावासीले आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई प्रस्तुत गर्दै आएका छन् ।
यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गरिने भएको छ । नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी कृति लेखेका छन् । उनी संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिसमेत भइसकेका छन् ।
विज्ञप्तिअनुसार तीनै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।