पोखरा । धम्पुस-ब्रेकन मितेरी सम्बन्धको चौथो वर्षगाँठ मनाइएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ धम्पुस र बेलायतको ब्रेकन सहरबीच मितेरी सम्बन्ध गाँसिएको चार वर्ष पूरा भएकोमा शुक्रबार (१० फेब्रुअरी २०२३) का दिन धम्पुसमा औपचारिक कार्यक्रमसहित वार्षिकोत्सव मनाइएको हो ।
वर्षगाँठ मनाउन ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूकेका अध्यक्ष डेभिड मेरिडिथ, माछापुच्छ्रे गाउँपालिका र वेल्सको ब्रेकन सद्भावनादूत तथा ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूके-नेपालका सल्लाहकार मेजर खुसीमान गुरुङ (एमभीओ)सहित ११ सदस्यीय प्रतिनिधिमण्डल नेपालका आएका थिए । टोलीमा ब्रेकन काउन्सिलका मेयर एवं ब्रेकन-धम्पुस ट्वीनिङ एसोसिएसन यूकेका अध्यक्ष मेरिडिथ, समाजसेवी/व्यवसायी मेजर गुरुङ (एमभीओ), वेल्सका लागि पर्यटन सद्भावनादूत सोमनाथ सापकोटालगायत छन् ।
कार्यक्रममा धम्पुस परिवार यूकेका सदस्यहरु, धम्पुसमा जन्म भई बेलायत बस्नेहरु पनि सहभागी थिए । धम्पुस गाउँमा प्रवेश गर्दा उनीहरुलाई माछापुच्छ्रे गाउँपालिका-७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीको नेतृत्वमा नौमती बाजासहित खादा, फूलमालाले स्वागत गरिएको थियो । टोलीलाई बाजागाजासहित धम्पुसका दुई गाउँ परिक्रमा गराई वडा कार्यालयमा आयोजित समारोहमा सरिक गराइएको थियो ।
कार्यक्रममा धम्पुस-ब्रेकन टुईनिङ एसोसिएसन नेपालका पूर्वअध्यक्ष समबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । लगत्तै माछापुच्छ्रे गाउँपालिका र वेल्सको ब्रेकन सद्भावनादूत तथा ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूके-नेपालका सल्लाहकार मेजर खुसीमान गुरुङ (एमभीओ)ले मितेरी सम्बन्धको पाँचौं वर्षगाँठको उपलक्ष्यमा सबैलाई बधाई ज्ञापन गर्दै यसको महत्व, उपलब्धि र आगामी दिनमा गर्नुपर्ने विषय प्रस्ट पारेका थिए । ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूकेका अध्यक्ष मेरिडिथले मितेरी सम्बन्ध स्थापना भएको गाउँमा आउन पाउँदा आफूलाई खुसी लागेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
धम्पुस-ब्रेकनबीच सन् २०१९ मा भगिनी सम्बन्ध स्थापना भएको हो । पहिलो वर्ष २०२० मा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमसहित वर्षगाँठ मनाइएको थियो । तर, दोस्रो र तेस्रो वर्षमा विश्वव्यापीरुपमा कोरोना महामारीका कारण वार्षिकोत्सव मनाउन नपाइए पनि यस वर्षगाँठ मनाउन पाइएकोमा मेजर गुरुङले खुसी व्यक्त गरे । ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन नेपालका सचिव असिम गुरुङले सञ्चालन गरेको समारोहका क्रममा ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूकेका अध्यक्ष डेभिड मेरिडिथले पाँचवटा विद्यालयलाई शैक्षिक सामग्री र नौमती बाजा समूहलाई दमाहा हस्तान्तरण गरेका थिए ।
वडाध्यक्ष भण्डारीले बेलायतबाट आएका काउन्सिलसहितका पाहुनालाई मायाको चिनो प्रदान गरेका थिए । त्यसपछि आयोजित रात्रिभोजमा सहभागी गराइएको थियो । रात्रिभोजमा रोधी टेलिभिजनका कलाकारहरुले मनोरञ्जन दिलाएका थिए ।
वर्षगाँठ मनाउनुअघिल्लो दिन ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूकेका टोलीलाई धम्पुस परिवार यूकेको आयोजनामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका सांसद धम्पुसका गणेशमान गुरुङ, वेल्सका लागि नेपालको तर्फबाट पर्यटन सद्भावनादूत सोमनाथ सापकोटा, धम्पुस परिवार यूकेका प्रमुख सल्लाहकार ललितप्रसाद गुरुङलगायतले स्वागत गरेका थिए । धम्पुस र पोखरामा आयोजित दुवै कार्यक्रममा नेपालका पूर्वओलम्पियन अमेरिका निवासी नारायण गुरुङ, धम्पुस परिवार यूकेका संस्थापक अध्यक्ष क्याप्टेन देवबहादुर गुरुङ, पूर्वअध्यक्ष अमरसिंह गुरुङ, धम् तथा वरिष्ठ सदस्यहरु पनि सहभागी थिए ।
यसैबीच, ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूकेको प्रतिनिधिमण्डलले नेपाल सरकारका परराष्ट्रमन्त्री विमला राई पौड्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर नेपालको पर्यटन प्रवर्द्धनका लागि भएको ब्रेकन-धम्पुस मितेरी सम्बन्ध र यूकेमा सुरु भएको 'नेपाली भिलेज' अभियानबारे जानकारी गराइने भएको छ । यही फेब्रुअरी १४ मा परराष्ट्रमन्त्री पौड्यालसँग र १५ तारिखमा पर्यटनमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको सल्लाहकार मेजर खुसीमान गुरुङ (एमभीओ)ले जानकारी दिएका छन् ।
नेपालीले संयुक्त लगानीमा बनाउने 'नेपाली भिलेज' का लागि बेलायतको वेल्समा २४ एकर जग्गा खरिद गरिसकिइएको छ । घरजग्गा वेल्सस्थित ब्रेकन टाउनबाट ८ माइलको दूरीमा छ । परियोजनामा हालसम्म २२७ जना शेयरधनी रहेको परियोजना प्रमुख निर्देशक रिटायर्ड मेजर खुशीमान गुरुङ एमभिओले जनाए ।
परियोजनाको मुख्य उद्देश्य नेपाली पर्यटन प्रवर्द्धन गर्दै कला संस्कृति अनि परम्परा संरक्षण र संवर्द्धन गर्ने रहेको छ । ब्रेकन टाउन नेपालको कास्कीस्थित धम्पुस गाउँसँग भगिनी सम्बन्ध स्थापना गर्ने पहिलो आधिकारिक सहर पनि हो । मेजर खुशीमान गुरुङ एमभिओका अनुसार नेपाली भिलेजमा क्याम्पिङ साइटलगायत होलिडे स्थलका निमित्त आवश्यक संरचनासहित परम्परागत नेपाली घरहरु, वर–पिपलसहितको चौतारी, ढुंगेधारा, नेपालका प्रमुख दुई आस्थाका केन्द्र पशुपतिनाथ र स्वयम्भूनाथ साथै ध्यानकेन्द्र बनाउने योजना बनाइने छ ।
यस्तै नेपालका प्रमुख हिमालहरुका प्रतिकृति (रेप्लीका) बनाएर यो गन्तव्यमा आउने सम्पूर्णलाई नेपालको ग्रामीण जीवनशैलीबारे जानकारी गराउने र त्यसैअनुसारको स्वाद दिलाउने योजना बनाइएको छ ।