धन गुरुङ
बेलायत । प्हच्युइरों भाई खलक परिवार युकेको चेलीबेटी तथा भान्जाभान्जीहरूसँगको १८औँ वार्षिक भेला अध्यक्ष क्याप्टेन जीवन कुमार गुरुङको अध्यक्षतामा शनिबार, ५ सेप्टेम्बर २०२६ मा सामलकुडी स्कुल फानबोरोमा भव्यताका साथ सम्पन्न भयो।
संस्थाका महासचिव इन्द्र नारायण गुरुङले कार्यक्रम सञ्चालन गरे भने प्हच्युइरों भाई खलकका उपाध्यक्ष धन गुरुङले स्वागत मन्तव्य दिए।
कार्यक्रम औपचारिक रूपमा संस्थाका अध्यक्ष क्याप्टेन जीवन कुमार गुरुङ, संस्थाका ज्येष्ठ नागरिक रत्नप्रसाद गुरुङ र नीर शोभा गुरुङ तथा संस्थाका चेलीहरू जगनकुमारी गुरुङ र शान्ता गुरुङले दीप प्रज्वलन गरी सुरु गरे।
कार्यक्रमको पहिलो चरणमा सम्मान तथा शुभकामनाको क्रममा समाजसेवी शान्त कुमार गुरुङ, रेशम गुरुङ र तारा गुरुङले समाजप्रति पुर्याएको विशेष योगदान र सहयोगको सम्मान स्वरूप उनीहरूको अतुलनीय योगदानको उच्च कदर गर्दै 'उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२६' बाट सम्मान गरिएको थियो ।
यसैगरी समाजका ज्येष्ठ नागरिक नीर शोभा गुरुङले ८४ वसन्त पार गरेको उपलक्ष्यमा ज्येष्ठ नागरिक सम्मान पत्रले सम्मान गरिएको थियो ।
संस्थाका नयाँ सदस्यहरू साथै उनीहरूका परिवारलाई पनि स्वागत गरियो। यसै सिलसिलामा समाजका नयाँ विवाहित बन्धनमा बाँधिएका नवदम्पतीहरूलाई र उच्च शिक्षा हासिल गर्ने परिवारका जति पनि सदस्यहरूलाई सम्मानसहित शुभकामना दिने कार्यक्रम गरिएको थियो ।
यस्तै समाजका युवाहरू जो यसपालिको GCSE परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भए, उनीहरूलाई पनि सम्मान गरियो। यस्तै क्रममा प्हच्युइरों भाई खलक र चेलीबेटीका नानीहरूमध्ये वर्षभरिको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने नानीलाई दिइने 'कर्ण कुमारी अवार्ड' डा. सरिना गुरुङले हात पारिन्।
कार्यक्रममा खानाको व्यवस्थापन AM O’ZONE रेस्टुरेन्टले गर्यो भने पेय पदार्थ साथै बार सञ्चालन अशोक गुरुङ, याम गुरुङ, चिजकाजी गुरुङ, प्रेम गुरुङ, किरण गुरुङ र सुबिन गुरुङले गरे।
कार्यक्रममा Raffle Draw को पनि आयोजना गरिएको थियो र Raffle Draw मा आकर्षक पुरस्कारहरू रहेकाले कार्यक्रम अझ रोचक बन्यो। राफल र मनोरञ्जन कार्यक्रम शान्त कुमार गुरुङ र साम गुरुङले सञ्चालन गरे।
कार्यक्रमको दोस्रो चरणमा सम्पूर्ण परिवार साथै चेलीबेटी र भान्जाभान्जीहरूले सामूहिक नृत्य गरी भरपूर मनोरञ्जन गरे। कार्यक्रममा नेपालबाट आएका कलाकारहरूको प्रस्तुति पनि समावेश गरिएको थियो।
अन्तमा संस्थाका अध्यक्ष क्याप्टेन जीवन कुमार गुरुङले समाजले यो वर्षभरि गरेका क्रियाकलाप र प्हच्युइरों भाई खलकको इतिहासको बारेमा जानकारी दिए। उनले समाजभित्र पर्ने दुःख-सुख र प्राकृतिक विपत्ति लगायतका कार्यहरूमा समाजले सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए। साथै प्हच्युइरों भाई खलकको इतिहासको बारेमा पनि जानकारी दिए। अध्यक्ष गुरुङले यस वार्षिक भेटघाट कार्यक्रममा सहभागी भई सुनमा सुगन्ध थपिदिएकोमा सबैलाई हार्दिक धन्यवाद दिए।



