लन्डन । चार भन्ज्याङ तमु समाज यूके (CBTS UK) ले नेपालको भोटेकोशी नदीमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि नेपाल सरकारलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष श्री दुर्गा गुरुङको अध्यक्षतामा हिजो, १ सेप्टेम्बर २०२६ बेलुका CBTS ICC अध्यक्ष, सल्लाहकारज्यूहरू, आमा प्रमुखज्यू तथा वर्तमान कार्यसमितिका सदस्यज्यूहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको छ।
यस राष्ट्रिय विपद्को घडीमा देश तथा विदेशमा रहेका सम्पूर्ण चार भन्ज्याङ सदस्यहरूलाई एकजुट भई मानवीय, प्राविधिक तथा आर्थिक सहयोग पुर्याउन बैठकले हार्दिक अपिल गरेको छ।
बैठकको निर्णयअनुसार बाढीपीडितहरूलाई तत्काल राहत पुर्याउने उद्देश्यले चार भन्ज्याङ तमु समाजकी चेली तथा यस क्षेत्रकी जनप्रतिनिधि माननीय श्रीमती बिना गुरुङज्यू मार्फत ५ लाख रुपैयाँ तत्कालै नेपाल हस्तान्तरण गरिसकिएको छ।
यसका साथै, चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष क्याप्टेन देउबहादुर गुरुङज्यूको संयोजनमा नेपाल, बेलायत, हङ्कङ, युरोप र जापान गरी यसका ७ इकाइहरुसँग समन्वय गरी थप १० लाख रुपैयाँ स्वयंसेवी योगदान (voluntary contribution) मार्फत संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। संकलित रकम यथासम्भव छिटो प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
चार भन्ज्याङ तमु समाज यूकेले नेपालमा आइपरेका विभिन्न प्राकृतिक तथा मानवीय विपद्का समयमा विगतदेखि नै निरन्तर सहयोग गर्दै आएको छ।
सन् २०१५ को विनाशकारी महाभूकम्पका समयमा संस्थाले पर्वतको चार भन्ज्याङ क्षेत्रका लागि ५,००० स्टर्लिङ पाउन्ड, तमु धीं यूकेमार्फत एनआरएनलाई ३,००० पाउन्ड तथा प्रधानमन्त्री राहत कोषमा २,००० पाउन्ड मानवीय सहयोग गरेको थियो।
त्यसैगरी, सन् २०२० को कोभिड–१९ महामारीका समयमा एनआरएनमार्फत ५ लाख रुपैयाँ सहयोग गर्नुका साथै चार भन्ज्याङ क्षेत्रमा रहेको लुङ्खु देउराली अस्पतालका लागि व्यक्तिगत संकलनबाट ४ वटा भेन्टिलेटर, अक्सिजन मोनिटर तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीहरू पठाएर सहयोग गरिएको थियो।
बैठकमा सहभागी सदस्यहरूले देशमा आएको यस विपत्तिको घडीमा सबै नेपालीहरू एकजुट भई सरकार तथा बाढीपीडित जनतालाई आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सक्दो सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
चार भन्ज्याङ तमु समाज यूकेको यो सहयोग केवल आर्थिक सहयोग मात्र नभई विपद्को समयमा नेपाल र नेपाली जनताप्रतिको आफ्नो मानवीय उत्तरदायित्व, ऐक्यबद्धता र मातृभूमिप्रतिको गहिरो माया एवं सद्भावको निरन्तरता हो।
महासचिव अनिल गुरुङले सञ्चालन गर्नुभएको उक्त बैठकमा CBTS ICC का अध्यक्ष क्याप्टेन देउ बहदुर गुरुङ, CBTS ICC/UK का पूर्व अध्यक्ष ले चन्द्र गुरुङ, CBTS UK का प्रमुख सल्लाहकार क्याप्टेन कृष्ण बहदुर गुरुङ, CBTSUK आमा प्रमुख अमला गुरुङ, CBTSUK का पूर्वअध्यक्षहरु मेजर कृष्ण गुरुङ, मदन गुरुङ, सल्लाहकार/तमु धीं यूकेका पूर्वअध्यक्षहरु ग्याम गुरुङ हरि गुरुङ, सल्लाहकार टेक बहादुर गुरुङ, संस्थाका उपाध्यक्ष अमर गुरुङ, कोषाध्यक्ष विमला गुरुङ कल्चर सेक्रेटरी प्रकाश गुरुङ लगायत कार्यसमिति सदस्यहरूको उपस्थित थियो।