लन्डन । नेपालको रसुवा, नुवाकोटलगायत जिल्लामा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृतिसभा आयोजना गरिएको छ।
मंगलबार साँझ दीप प्रज्वलनसहित आयोजित सभाको सुरुवात मृतकहरूको सम्झनामा एक मिनेट मौनधारणबाट गरिएको थियो।
एनआरएनए यूकेको आयोजनामा नेपाली दूतावासमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल सरकारले खोजी तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि सम्पूर्ण साधनस्रोत परिचालन गरिरहेको बताए।
उनले बेलायती राजपरिवार, प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर तथा समाजसेवी र व्यवसायीहरूबाट दुःखको यस घडीमा ऐक्यबद्धता र सहयोगका सन्देश प्राप्त भएको जानकारी दिए। बेलायतस्थित नेपाली समुदायले बाढीपीडितका लागि मन खोलेर सहयोग गरिरहेको भन्दै उनले समुदायप्रति आभार व्यक्त गरे।
मानवीय सहयोगका नाममा संकलित रकम दुरुपयोग हुन नदिन र उठेको रकम वास्तविक पीडितसम्म पुग्ने सुनिश्चित गर्न पनि उनले आग्रह गरे। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने जानकारी दिँदै यससम्बन्धी थप विवरण दूतावासको वेबसाइटमा अद्यावधिक गरिएको उनले बताए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले एनएचएसमा कार्यरत आफ्नी दिदी शारदा सिम्खडा बाढीपछि बेपत्ता रहेकाले आफूहरू अत्यन्तै पीडामा रहेको बताए। उनले शारदा सकुशल फर्किने आशा अझै कायम रहेको उल्लेख गर्दै सबैलाई बेपत्ता व्यक्तिहरूको खोजी र बाढीपीडितको सहयोगमा आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरे।
सिम्खडाले एनआरएनएले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिरहेको जानकारी पनि दिए।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीहरूले कुनै अपराध नगरे पनि जलवायु परिवर्तनका कारण ठूलो धनजनको क्षति व्यहोर्नुपरेको भन्दै नेपालले जलवायुजन्य क्षतिको क्षतिपूर्ति माग गर्नुपर्ने बताए।
दुःखमा एकअर्कालाई सहयोग गर्ने नेपाली परम्परा रहेको उल्लेख गर्दै उनले बाढीपीडितको पीडामा मलम लगाउन सबैलाई आग्रह गरे। पीडितको सहयोगका लागि एनआरएनए यूके सबै संघसंस्थासँग सहकार्य गर्न तयार रहेको उनले बताए।
बाढीबाट अत्यन्त प्रभावित रसुवा र नुवाकोट जिल्लाबाट बेलायत आएर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई कुनै सहयोग आवश्यक परे एनआरएनए यूकेसँग सम्पर्क गर्न पनि पुडासैनीले आग्रह गरे।
नेप्लिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापाले एसोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गरिसकेको जानकारी दिइन्। उनले सहयोग संकलन जारी रहेको बताउँदै बेलायतमा कार्यरत नेपाली चिकित्सकहरू नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरिन्। साथै, उनले जलवायु न्यायका लागि पनि आवाज उठाउनुपर्नेमा जोड दिइन्।
नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रश्मिता दर्लामीले आफ्नी एक नर्सिङ सहकर्मी शारदा सिम्खडा बाढीपछि बेपत्ता रहेकामा आफूहरू अत्यन्तै दुःखी रहेको बताइन्। उनले शारदा सकुशल फर्किऊन् भन्ने कामना गर्दै आफूहरूले प्रार्थना गरिरहेको उल्लेख गरिन्। बाढीपीडितको उपचार तथा मानवीय सहयोगमा नेपाली नर्सहरू आवश्यक सहयोग गर्न तयार रहेको पनि उनले बताइन्।
स्मृति सभामा नुवाकोट समाज यूकेका अध्यक्ष प्रमोद भण्डारी, मर्जिङ नेपसक्सका सुशान्त चुडाललगायतले दुःखको यस घडीमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।
हाल बेलायतमा अध्ययनरत निरुता आचार्यले बाढीमा परी आफ्ना भाइ केवल आचार्य बेपत्ता रहेको बताउँदै सबै बेपत्ता तथा घाइतेहरूको शीघ्र उद्धार र स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिन आग्रह गरिन्।
कार्यक्रमको सञ्चालन नेपाली दूतावासका द्वितीय सचिव सञ्जोग राईले गरेका थिए। स्मृति सभामा बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।