लन्डन । तमु धीं यूकेको आयोजना तथा नेपाली राजदूतावास, लन्डनको सहकार्यमा ३० अगस्ट २०२६ मा केम्प्टन पार्कमा सम्पन्न १७औँ नेपाली मेलामा दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले उत्कृष्ट ट्रहोटे तथा झाँकी प्रदर्शन गरेको छ।
ट्रहोटे पर्व तमु (गुरुङ) समुदायले मनाउने मौलिक सांस्कृतिक तथा ऋतु पर्व हो। गुरुङ भाषामा ‘ट्रहो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउनु भन्ने बुझिन्छ। वर्षमा दुई पटक मनाइने यस पर्वले गाउँ तथा समाजबाट रोगव्याधि, शत्रु तथा नकारात्मक ऊर्जालाई पन्छाएर सुख, शान्ति र समृद्धि भित्र्याउने सांस्कृतिक मान्यता बोकेको छ।
‘नेपाली मेलामा सहभागी बनौँ, नेपाली कला–संस्कृतिको जगेर्ना गरौँ’ भन्ने नारासहित दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनका करिब १०० जना सदस्य ट्होटे तथा झाँकी प्रदर्शनमा सहभागी भएका थिए। समाजका अध्यक्ष, पूर्वअध्यक्षहरू, आमा समूहका अध्यक्ष तथा पूर्वअध्यक्षहरू, कार्यसमितिका पदाधिकारी, सल्लाहकार, सदस्य तथा युवाहरूको उल्लेख्य सहभागिताले विभिन्न पुस्ताबीचको एकता र मौलिक संस्कृतिप्रतिको गहिरो लगाव झल्काएको थियो।
समाजका सदस्यहरूले मादल, झ्यालीलगायतका परम्परागत बाजागाजासहित ढोलकको तीन तालमा ट्होटे तथा झाँकी प्रस्तुत गरेका थिए। प्रदर्शनले नेपाली मेलामा सहभागी दर्शकहरूको ध्यान आकर्षित गर्नुका साथै तमु समुदायको मौलिक संस्कृति र परम्परालाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।
कार्यक्रमका क्रममा दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनको अध्यक्ष शिव राम गुरुङ बीईएमले समाजको परिचय तथा गतिविधिबारे संक्षिप्त मन्तव्य राखेका थिए । उनले नेपाली मेला विविधताभित्रको एकता प्रदर्शन गर्ने तथा भावी पुस्तालाई भाषा, कला र संस्कृति हस्तान्तरण गर्ने साझा मञ्च भएको बनाए ।
सन् २००२ मा स्थापना भएको समाज सबैको योगदानबाट ४५० भन्दा बढी आजीवन सदस्य रहेको सामाजिक तथा परोपकारी संस्थाका रूपमा विकसित भएको उल्लेख गर्दै अध्यक्ष गुरुङले नयाँ पुस्तालाई आफ्नो जरा, मातृभूमि र पहिचानसँग जोड्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष गुरुङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि समाजले केही दिनभित्रै नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराउनेसमेत उनले बताए ।
नेपाली मेलामा ट्रहोटे र झाकी कार्यक्रमको संयोजन सचिव कमल गुरुङ र सल्लाहकार डम्बरकाजी गुरुङको नेतृत्वमा भएको थियो। उपाध्यक्ष तथा आमा प्रमुख मीना गुरुङले यातायात तथा प्रशासन व्यवस्थापनको जिम्मेवारी सम्हालेकी थिइन्।
जेष्ठ नागरिक रत्न गुरुङ तथा संस्थापक आमा प्रमुख मायारानी गुरुङले आफ्नो उमेरको पर्वाह नगरी हरेक वर्ष कार्यक्रम सफल बनाउन पुर्याउँदै आएको योगदानको पनि प्रशंसा गरिएको थियो।
त्यसैगरी, निवर्तमान अध्यक्ष प्रेम कुमार गुरुङ र उपाध्यक्ष याम गुरुङसहित कलाकार तथा नृत्य टोलीले प्रस्तुतिलाई आकर्षक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ट्होटे टोलीका बाजागाजा तथा अन्य व्यवस्थापनमा सहभागी सम्पूर्ण सदस्यहरूले कार्यक्रम सफल बनाउन योगदान दिएका थिए।
मेलामा सहभागी हुन समाजका सदस्यहरू बिहान करिब ९ बजे समाजघरबाट दुईवटा बसमा प्रस्थान गरेका थिए। अन्य सदस्यहरू निजी सवारीसाधनमार्फत केम्प्टन पार्क पुगेका थिए। बिहान करिब ११ बजेसम्म समाजको टोली मेलास्थलमा भेला भएको थियो।
समाजले सहभागी सदस्यहरूका लागि प्रवेश टिकटको समेत व्यवस्था गरेको थियो भने टिकट वितरण तथा अन्य व्यवस्थापनमा कोषाध्यक्ष दिकपाल गुरुङ र सचिव सुशिल गुरुङ लगायतले जिम्मेवारी सम्हालेका थिए।
आमा समूहका दिदीबहिनीहरूले विभिन्न परिकारका खाना तथा पेयपदार्थको व्यवस्थापन गरेका थिए। ट्रहोटे तथा झाँकी प्रदर्शनअघि समाजका सदस्यहरूले सामूहिक रूपमा भोजन गरेका थिए।
त्यसपछि मेलामा प्रस्तुत विभिन्न संघसंस्थाका सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुका साथै विभिन्न स्टलमा किनमेल, भेटघाट तथा आपसी शुभेच्छा आदानप्रदान गरेका थिए।
कार्यक्रम सफल बनाउन खाजा, चिया–कफी तथा खानाको व्यवस्थापनमा उपाध्यक्ष तथा निवर्तमान आमा प्रमुख बिन्दु गुरुङ, लक्ष्मी गुरुङ, विजन गुरुङ, टिक शुपा गुरुङ, दिता गुरुङ, भिमा गुरुङ, सबिता गुरुङ र रूकमाया गुरुङलगायतले योगदान दिएका थिए।
क्याम्बर्लीबाट ताजा रोटी, भुटुवा तथा आलुदम ल्याएर सहयोग गर्ने डिक बहादुर गुरुङलगायत सम्पूर्ण ईसी सदस्यहरूप्रति पनि आयोजकले आभार व्यक्त गरेको छ।
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डन का झाँकी टोलीमा सहभागी सम्पूर्ण बाबाआमा, दाजुभाइ, दिदीबहिनी तथा भान्जाभान्जीहरूको सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको आयोजकको भनाइ छ।
सचिव कमल गुरुङले ट्रहोटे तथा झाँकी प्रदर्शनलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, आजीवन सदस्य तथा स्वयंसेवकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै माया, साथ, सहयोग र समर्थन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेका थिए।