बेलायत । बेलायतमा आगामी ३० अगस्टमा आयोजना हुन लागेको १७ औं नेपाली मेलाबाट हुने सम्पूर्ण बचत रकम नेपालका बाढीपीडितको सहयोगार्थ प्रदान गरिने भएको छ।
आयोजक संस्था तमु धीं यूकेको फर्नबरोमा बसेको आकस्मिक बैठकले मेलालाई पूर्वनिर्धारित समयमै सम्पन्न गर्ने र त्यसबाट संकलित मुनाफा भोटेकोशीका बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। मेलाका संयोजक एवम् उपाध्यक्ष कमल गुरुङले यसपटक शोकलाई सामूहिक शक्तिमा बदल्ने संकल्पका साथ मेला मनाउने तयारी गरिएको बताए।
यस्तै, संस्थाका अध्यक्ष जुमकाजी गुरुङले बेलायतवासी नेपालीहरुलाई मेलामा सहभागी भई यो मानवीय कार्यमा सघाउन पुनः अपिल गरेका छन्। लण्डनको केम्पटन पार्क रेसकोर्समा हुने उक्त मेला बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।
२७ अगस्टमा विज्ञप्ति जारी गर्दै तमु धीं यूकेले विपद्मा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी कामना गरेको हो ।
अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा. विशाल गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा एकजुट भएर मानवीय सहयोग एवं उद्धारमा जुट्न सबैमा अपिल गरिएको छ ।
‘पीडितलाई तत्काल स्वास्थ्य उपचार, खाद्यान्न, आवश्यक आवास साथै जोखिममा रहेका घरबारविहीन भएका धनजन र आफन्त गुमाएर शोकाकुल भएका सबैलाई राहत हुनेगरी ज्ञान, सीप, अनुभव, प्राविधिक र आर्थिक सहयोग पुर्याऔँ । सहकार्य गरौँ,’ विज्ञप्तिमा भनिएको छ ।
