लन्डन। प्रख्यात नेपाली अभिनेत्री पशुपति राई बुधबार साँझ बेलायत आइपुगेकी छन्। आगामी अगस्ट ३० मा आयोजना हुने १७औँ नेपाली मेलामा निर्णायकको भूमिका निर्वाह गर्न र आफूद्वारा अभिनित चलचित्र 'पेन्सन पट्टा' को प्रिमियरमा सहभागी हुन उनी यहाँ आएकी हुन्।
हिथ्रो विमानस्थलमा उत्रिएकी अभिनेत्री राईलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, कार्यसमिति सदस्य भोज गुरुङ, गोरखा मिडियाका निर्देशक मिलन तमु र शशि थापा सुब्बाले भव्य स्वागत गरे। उनलाई खादा र पुष्पगुच्छाले स्वागत गरिएको थियो।
तमु धीं यूकेको निमन्त्रणामा बेलायत आएकी अभिनेत्री राई अगस्ट ३० मा हुने नेपाली मेलामा 'जज' को भूमिकामा रहनेछिन्। यसका साथै आगामी सेप्टेम्बर १२ तारिखमा बेलायतमा प्रदर्शन हुन लागेको चलचित्र 'पेन्सन पट्टा' को प्रिमियर शोमा पनि उनी मुख्य आकर्षणको रूपमा रहने कार्यक्रम छ। उक्त चलचित्रमा मीनप्रसाद गुरुङ र भोज गुरुङ निर्माताका रूपमा रहेका छन्।
'कबड्डी' लगायतका कैयौँ हिट नेपाली चलचित्रहरूमा सशक्त अभिनय गरेर दर्शकको मन जितेकी राईको यो दोस्रो बेलायत भ्रमण हो। विगत २१ वर्षदेखि नेपाली रङ्गमञ्च, निर्देशन र अभिनय क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी उनले नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छन्।
विमानस्थलमा गोर्खा मिडियासँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्ना आगामी कार्यक्रमबारे जानकारी दिइन्। कुराकानीको अन्त्यमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, कार्यसमिति सदस्य भोज गुरुङलगायत सम्पूर्ण तमु धीं यूके प्रति यो अवसरका लागि धेरै धन्यवाद्सहित आभार प्रकट गरेकी थिइन् ।


