लन्डन । नेपालको भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण भएको क्षतिप्रति तमु धीं यूकेले दुःख व्यक्त गरेको छ ।
२७ अगस्टमा विज्ञप्ति जारी गर्दै तमु धीं यूकेले विपद्मा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी कामना गरेको हो ।
अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा. विशाल गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा एकजुट भएर मानवीय सहयोग एवं उद्धारमा जुट्न सबैमा अपिल गरिएको छ ।
‘पीडितलाई तत्काल स्वास्थ्य उपचार, खाद्यान्न, आवश्यक आवास साथै जोखिममा रहेका घरबारविहीन भएका धनजन र आफन्त गुमाएर शोकाकुल भएका सबैलाई राहत हुनेगरी ज्ञान, सीप, अनुभव, प्राविधिक र आर्थिक सहयोग पुर्याऔँ । सहकार्य गरौँ,’ विज्ञप्तिमा भनिएको छ ।
बिहीबार साँझसम्ममा बाढीमा परी मृत्यु भएका ३५९ जनाको शव फेला परेको छ । रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा २, नुवाकोटमा २, चितवनमा १३२, तनहुँमा २२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।