अल्डरसट । तमु लम परिवार यूकेको कार्यसमिति बैठक अध्यक्ष रामचन्द्र गुरुङको अध्यक्षतामा २३ अगस्ट २०२६ का दिन अल्डरसटमा सम्पन्न भएको छ ।
बैठकमा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा छोरीचेली समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा संस्थाको वर्तमान अवस्था, आगामी कार्यक्रम, सदस्यता व्यवस्थापन, संस्थागत विकास, विधान समीक्षा तथा संशोधन, साधारण सभा तथा अधिवेशनको तयारी, वार्षिक भेटघाट तथा सम्मान कार्यक्रमलगायत विभिन्न विषयमा विस्तृत छलफल गरिएको थियो ।
बैठकले तमु लम परिवार यूकेको आगामी साधारणसभा तथा अधिवेशन १२ सेप्टेम्बर २०२६ मा बिहान १० बजे अल्डरसटस्थित एम्पायरको पहिलो तलामा आयोजना गर्ने निर्णय गरेको छ । अधिवेशनलाई निष्पक्ष, पारदर्शी तथा व्यवस्थित रूपमा सम्पन्न गर्न सल्लाहकार एकेन्द्र गुरुङलाई निर्वाचन आयुक्त तोकिएको छ ।
सल्लाहकारद्वय गणेश गुरुङ र टिका गुरुङलाई निर्वाचन समितिको सदस्यमा चयन गरिएको छ । निर्वाचन समितिले उम्मेदवारी प्रक्रिया, निर्वाचन आचारसंहिता तथा निर्वाचन व्यवस्थापनसम्बन्धी आवश्यक तयारी गर्नेछ ।
संस्थाले बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने तमु लम परिवार यूकेका सम्पूर्ण सदस्य, लम दाजुभाइ तथा छोरीचेलीहरूलाई अधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।
संस्थाको विद्यमान विधानलाई समयसापेक्ष बनाउँदै आवश्यक संशोधन तथा परिमार्जन गर्न सल्लाहकार सुमल कुमार गुरुङको प्रमुखत्वमा विधान मस्यौदा समिति पनि गठन गरिएको छ । समितिमा टिका गुरुङ र गणेश गुरुङ सदस्य रहेका छन् ।
समितिले संस्थाको उद्देश्य, सांगठनिक संरचना, सदस्यता, कार्यसमिति तथा निर्वाचन प्रक्रियालगायत विषयको समीक्षा गरी संशोधित विधानको मस्यौदा तयार गर्नेछ र उक्त मस्यौदा आगामी साधारण सभा तथा अधिवेशनमा छलफल तथा अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।
यसैगरी, संस्थाको कार्यसम्पादन तथा संस्थागत विकासमा आवश्यक सुझाव र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले दिलरास गुरुङ, हर्क गुरुङ, मेजर हितमान गुरुङ र मेजर कुमार गुरुङलाई संस्थाको सल्लाहकारमा चयन गर्ने निर्णय गरिएको छ ।
बैठकले तमु लम परिवार यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम १० अक्टोबर २०२६ मा दिउँसो ४ बजे अल्डरसटस्थित एम्पाएरमा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
सदस्यहरूबीच आपसी भाइचारा, सद्भाव, आत्मीयता तथा सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा सदस्यता प्रमाणपत्र वितरण, सन् २०२६ मा स्नातक तह उत्तीर्ण गरेका सदस्य वा सदस्यका छोरा–छोरीलाई शैक्षिक उपलब्धिका लागि सम्मान, पेशागत क्षेत्रमा पदोन्नति प्राप्त गरेका तथा सामाजिक वा सामुदायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
संस्थाको पहिचान र औपचारिक कार्यक्रममा एकरूपता कायम गर्न तमु लम परिवार यूकेको लोगो अंकित टाई तयार गरी प्रयोगमा ल्याउने निर्णय पनि गरिएको छ ।
बैठकमा कोषाध्यक्ष कमल गुरुङज्यूले संस्थाको वार्षिक आय–व्यय तथा आर्थिक अवस्थासम्बन्धी विवरण प्रस्तुत गरेका थिए । सदस्य संयोजक तथा उपाध्यक्ष चन्द्र प्रसाद गुरुङले सदस्यता तथा सदस्य व्यवस्थापनसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए ।
बैठकले संस्थाको आर्थिक पारदर्शिता, व्यवस्थित आर्थिक व्यवस्थापन, सदस्यता विस्तार तथा सदस्यहरूको अभिलेख व्यवस्थापनमा विशेष जोड दिएको छ । बैठकको प्रारम्भमा उपाध्यक्ष क्याप्टेन सूर्य प्रकाश गुरुङज्यूले उपस्थित पदाधिकारी, सदस्य, सल्लाहकार तथा अतिथिहरूलाई स्वागत गरेका थिए ।
यस अवसरमा नेपालबाट बेलायत भ्रमणमा आएका विन्ध्यवासिनी हाइड्रो पावरका सञ्चालक ओम गुरुङलाई तमु लम परिवार यूकेको तर्फबाट विशेष स्वागत तथा सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र गुरुङ, छोरीचेली प्रमुख बिनु गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, सल्लाहकार श्रीमती दिलमाया गुरुङलगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । उनको बेलायत भ्रमण सफल, सुखद तथा उपलब्धिमूलक रहोस् भन्ने शुभकामना पनि व्यक्त गरिएको थियो ।
बैठकले संस्थाका उपाध्यक्ष क्याप्टेन सूर्य प्रकाश गुरुङकी ममतामयी आमा स्वर्गीय देवीकुमारी गुरुङको ८९ वर्षको उमेरमा ४ जुलाई २०२६ मा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको थियो । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा उपस्थित पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूले एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बैठकको समापन गर्दै अध्यक्ष रामचन्द्र गुरुङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । संस्थाका आगामी कार्यक्रम तथा गतिविधिलाई सफल बनाउन सबैको निरन्तर सहयोग, सहकार्य र सहभागिता आवश्यक रहेको उनले बताए ।
बैठकले तमु लम परिवार यूकेलाई थप व्यवस्थित, पारदर्शी, समावेशी र प्रभावकारी संस्थाका रूपमा अघि बढाउँदै बेलायतमा बसोबास गर्ने तमु लम समुदायबीच आपसी एकता, भाइचारा र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।