बेलायत । बेलायतका विभिन्न शहरहरूमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन गरिने भएको छ । निर्माण पक्षले मिचेटस्थित तमुधिं यूके भवनमा आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।
नेपालमा ११ सेप्टेम्बरबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको बेलायत प्रिमियर भने १२ सेप्टेम्बरमा प्रिन्सेस हलमा हुने निर्माता तथा तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले बताए । चलचित्र निर्माण आफ्नो मुख्य पेशा नभए पनि सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई प्रोत्साहन गर्न आफूले लगानी गरेको उनले प्रष्ट पारे । पेन्सन पट्टा केवल कागजको टुक्रा मात्र नभई जीवन धान्ने बलियो आधार पनि हो भन्ने मुख्य सन्देश फिल्मले बोकेको छ ।
माओत्से गुरुङको निर्देशनमा तयार भएको यो दोश्रो फिल्ममा माया, त्याग र आत्मसम्मानको कथालाई प्रस्तुत गरिएको छ । यो एक पारिवारिक चलचित्र भएकाले दर्शकहरूलाई अन्त्यसम्म बाँधिराख्ने दाबी निर्माता गुरुङले गरे । फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, स्वर्गीय सुनिल थापा, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर गुरुङ र मनिका गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । बेलायतको प्रदर्शनीका दौरान कलाकारहरू गौमाया गुरुङ र पशुपति राईको विशेष उपस्थिति रहने बताइएको छ । कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नेपाली कला र कलाकारलाई माया गर्नु सबैको दायित्व भएको भन्दै फिल्म हेरेर साथ दिन आग्रह गरे ।
सीमित सिट संख्या रहेकाले दर्शकहरूलाई समयमै टिकट बुक गर्न आयोजकले आह्वान गरेका छन् । फिल्म हेर्नका लागि साधारण टिकटको २० पाउण्ड र विशेष आतिथ्यसहितको भिआइपी टिकटको ५० पाउण्ड मूल्य तोकिएको छ । पूर्वनिर्धारित तालिका अनुसार सेप्टेम्बर १९ मा साउथ इष्ट लन्डनको प्लमस्टिड र २७ सेप्टेम्बरमा ननिटनमा फिल्म देखाइने छ । यसका साथै स्वीन्डन, फोक्सटन लगायतका अन्य शहरहरूमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।
