लन्डन । तमु धीं यूकेको आयोजनामा विगतमा झैँ लन्डनमा हुने १७औँ नेपाली मेलाको तयारी पूरा भएको छ ।
आइतबार, २३ अगस्टमा मिचेटस्थित आफ्नै भवन पत्रकार सम्मेलन गरी आयोजकले मेलाको तयारी पूरा भएको जनाएको हो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ मेला ३० अगस्ट, २०२६ का दिन लन्डन केम्पटन पार्क रेस कोर्स मैदानमा हुनेछ ।
लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला हुन लागेको हो । प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी हुनेछन् । अन्य नेपाली तथा विदेशी कूटनीतिक पाहुनासमेत सहभागी हुने आयोजकको अपेक्षा छ ।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए । मिडिया सेक्रेटरी एसके गुरुङले पत्रकारहरूको परिचयसहित स्वागत गरे भने अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र उपाध्यक्ष एवं मेला संयोजक कमल कोने गुरुङले सम्मान गरेका थिए ।
नेपालबाट आएका समाजसेवी तथा कलाकार, काउन्सिलर उत्तरबहादुर गुरुङ, आमा समूहकी संस्थापक अध्यक्ष तथा एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, तमु धीं यूके पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, BCC UK का निवर्तमान अध्यक्ष तथा तमु धीं यूके सल्लाहकार हर्क गुरुङ र उनकी श्रीमती जगना गुरुङलगायतलाई पनि विशेष सम्मान गरिएको थियो ।
पत्रकार सम्मेलनमा संस्थाका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, ट्रष्टी सूर्य गुरुङ, प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ, BCC UK का निवर्तमान अध्यक्ष तथा तमु धीं यूके सल्लाहकार हर्क गुरुङ, लन्डन इकाई अध्यक्ष भरत गुरुङलगायत पदाधिकारी तथा सदस्य उपस्थित थिए ।
संस्थाका उपाध्यक्ष एवं मेला संयोजक कमल कोने गुरुङले मेलाबारे जानकारी गराए । मेला नेपाली कला संस्कृति र पहिचानको उत्सवका रूपमा मनाइन लागेको उनको भनाइ थियो । मेला बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ ।
विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा, परम्परा, रहनसहन झल्कने झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । खाना तथा अन्य व्यापारिक र च्यारिटीका स्टल एवं हेल्थ क्याम्पसमेत रहनेछन् ।
संयोजक गुरुङका अनुसार यसवर्ष बेलायतस्थित ४२ नेपाली संघसंस्थाले मेलाको झाँकीमा भाग लिनेछन् । नृत्य प्रतियोगितासमेत हुनेछ । औपचारिक कार्यक्रम बिहान ११.२० बजे उद्घाटन हुनेछ ।
झाँकी र नृत्य प्रतियोगितामा विजेता टिमले १ हजार ५०० पाउन्डको एम्बासडर कप पाउनेछन् । यसअघि १ हजार १०० पाउन्ड रहेको थियो । यस्तै, फस्ट र सेकेन्ड रनरअपले क्रमशः ७०० र ५०० पाउन्ड पाउनेछन् । झाँकी र नृत्य प्रतियोगितामा विजेता टिमले प्राप्त गर्ने १ हजार ५०० पाउन्डको एम्बासडर कप प्रायोजन BCCUK का निवर्तमान अध्यक्ष तथा तमु धीं यूके सल्लाहकार हर्क गुरुङ र जगना गुरुङले गरेका छन् ।।
सोही अवसरमा हुने एनआरएनए कपको विजेतालाई ५०० पाउन्ड दिइनेछ । यसअघि ३०० पाउन्ड रहेको थियो ।
कुल ७५ स्टल मेला सम्पन्न गर्न करिब ६१ हजार पाउन्ड खर्च हुने संयोजक गुरुङले बताए । उनका अनुसार, मेलाबाट करिब ६४ हजार पाउन्ड आम्दानी हुने अपेक्षा गरिएको छ । बालबालिका र वृद्धवृद्धालाई नि:शुल्क प्रवेशको व्यवस्था हुनेछ । वयस्कले भने ५ पाउन्ड प्रवेश शुल्क तिर्नुपर्नेछ ।
पत्रकार सम्मेलनमा बोल्दै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले मेला सफल बनाइदिन सञ्चारकर्मीसहित सबैमा आग्रह गरे ।