बेलायत । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार किताब यात्रा फाउन्डेसनको आयोजनामा तेस्रो ‘किताब जात्रा’ भव्य रूपमा सम्पन्न भएको छ । बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा यो साहित्यिक उत्सव आयोजना गरिएको हो ।
कार्यक्रममा बेलायती लेबर पार्टीका नेता एवं पूर्वसांसद वीरेन्द्र शर्माले बेलायतको विविधता नै यहाँको मुख्य शक्ति भएको बताए । बेलायती संसदको नेपाल मामिला हेर्ने संसदीय समूहका पूर्वअध्यक्ष समेत रहेका शर्माले नेपाली डायस्पोराले बेलायती समाजमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र इतिहाससँग जोड्नुपर्नेमा विशेष जोड दिए । भाषा मासिए धेरै कुरा हराउने भन्दै उनले युवाहरूलाई मातृभाषा सिक्न प्रोत्साहन गर्नुपर्ने बताए । साथै, नेपाल र बेलायतबीचको सम्बन्ध बलियो बनाउन डायस्पोराको भूमिका महत्त्वपूर्ण रहेको र विश्व शान्तिका लागि नेपाल, भारत र बेलायतबीच सहकार्य हुनुपर्ने धारणा उनले राखे ।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यले किताब जात्राले नयाँ पुस्ता र डायस्पोरालाई जोड्ने पुलको काम गरेको बताए । यस्ता कार्यक्रम सञ्चालन गर्न ठुलो स्रोतको आवश्यकता पर्ने भएकाले सबैले सहयोग गर्नुपर्ने उनको आग्रह थियो । त्यस्तै, बीबीसी नेपाली सेवाका पूर्व डेस्क एडिटर सुमन खरेलले प्रवासमा हुर्किरहेका युवालाई नेपाली पठन संस्कृतिमा आकर्षित गर्नु अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे । वरिष्ठ टेलिभिजन पत्रकार टीकाराम यात्रीले प्रवासमा नेपाली पहिचान जोगाउन भइरहेका प्रयासको सराहना गर्दै अनुभूतिलाई पनि पुस्तकको रूपमा लिन सकिने बताए । सेन्ट जोन्स वुड क्यापिटलका अध्यक्ष तरुण गुलाटीले भाषाले मानिसहरूलाई भावनात्मक रूपमा जोड्ने भएकाले नेपालीहरूले आफ्नो संस्कृतिमा गर्व गर्नुपर्ने बताए ।
नेपाली दूतावासका द्वितीय सचिव संजोग राईले साहित्यलाई विचार आदानप्रदान गर्ने र मानिसहरूलाई जोड्ने सशक्त माध्यमका रूपमा चित्रण गर्दै दूतावासले यस्ता रचनात्मक कार्यलाई सधैँ साथ दिने प्रतिबद्धता जनाए । किताब जात्राका निर्देशक ऋषिराम अधिकारीले लेखक र पाठकलाई नजिक ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । उनले आगामी वि.सं. २०८३ भित्र साउदी अरेबिया, कतार र युरोपका अन्य देशहरूमा पनि किताब जात्रा आयोजना गर्ने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा ‘डायस्पोरा नेपाली साहित्य: अवसर र चुनौती’ विषयमा भएको प्यानल छलफलमा लेखकहरूले डायस्पोरिक साहित्यको अवस्थाबारे चर्चा गरेका थिए । पत्रकार निर्भिक जङ्ग रायमाझीले सहजीकरण गरेको उक्त बहसमा डा. रवीन्द्र समीरले डायस्पोराका लेखकहरूले उत्कृष्ट साहित्य सिर्जना गरिरहेको भए पनि नेपालको मूलधारका सञ्चारमाध्यम र साहित्यिक क्षेत्रमा उनीहरूले कमै मात्र स्थान पाउने गरेको बताए । डा. सङ्गीता स्वेच्छाले डायस्पोरिक जीवनको तरल अवस्था र पहिचानको द्वन्द्वबारे धारणा राख्दै यसलाई अझै पनि मूलधार बाहिरको साहित्यका रूपमा हेर्ने गरिएको गुनासो गरिन् । यस्तै, पत्रकार टीकाराम यात्रीले प्रवासमा नेपाली भाषाको शुद्धता कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै नयाँ पुस्तामा मातृभाषा संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने बताए ।
सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच व्यक्तित्वलाई ‘किताब जात्रा अवार्ड’ बाट सम्मानित गरियो । सम्मानित हुनेहरूमा समाजसेवी रविन्द्रजंग लामिछाने, उद्यमी कुल आचार्य, युवा अभियन्ता लेक्स लिम्बू, साहित्यकार डा. सङ्गीता स्वेच्छा र पत्रकार भगीरथ योगी रहेका छन् । कार्यक्रममा कविता वाचन, देशभक्तिपूर्ण गीत प्रस्तुति र नेपाली हस्तकला तथा पुस्तकहरूको प्रदर्शनी समेत गरिएको थियो ।