लन्डन । विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्सदाइ) एमबीईको असामयिक निधनको शोकमा गत मङ्गलबार (११ अगस्ट) का दिन बेलायतको अल्डरसटस्थित बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके गुम्बामा दीप प्रज्वलन तथा विशेष पूजापाठ सम्पन्न भएको छ ।
गत जुलाई ३० तारिकका दिन पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा विश्व कीर्तिमानी हिमाल आरोही निम्स पूर्जासहित १० जनाको हिम पहिरोमा परी निधन भएको थियो । उनीहरू सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रममा पूज्य गुरु वर्गहरू रिन्पोछे लुङ्गरिक, खेन्पो वाङ्गचुक, खेन्पो क्याल्जेङ्ग, र आचार्य पासाङद्वारा मोलम पाठ तथा विशेष पूजापाठ गरिएको थियो ।
उक्त कार्यक्रममा बीसीसी युकेका अध्यक्ष आङ्दावा शेर्पा, बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, आमा प्रमुख शारदा गुरुङले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी दिवंगत आत्माहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै, बीसीसी युकेका पदाधिकारी, सल्लाहकार, ट्रष्टीज मेम्बर्स तथा आमाहरूले समेत १०८ वटा दीप प्रज्वलन गरी दिवंगत आत्माको चिर शान्तिको कामना गरे ।
हाल निर्मल पुर्जाको पार्थिव शरीर बेलायत ल्याई सकिएको र २६ अगस्टका बुधबारका दिन अन्त्येष्टि गरिनेछ ।
बीसीसी युकेका अध्यक्ष आङदावा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभीओले सञ्चालन गरेका थिए ।