बेलायत । गोर्खा आमा समूह एम्पायर हल र Sungabha Entertainment को सहकार्यमा आज एल्डरसटस्थित एम्पायर हलमा नेपाली कथानक चलचित्र ‘मिर्मिरे’ को विशेष प्रदर्शन सम्पन्न भएको छ।
उक्त चलचित्र प्रदर्शन कार्यक्रममा चलचित्रकी नायिका शृजना निङ्लेखु, Sungabha Entertainment का निर्देशक गौरव कान्दाङ्वा लिम्बु, चलचित्र प्रदर्शनका मुख्य प्रायोजक Anugraha Gold House का प्रबन्ध निर्देशक सुमन राई तथा Gorkha Media का निर्देशक मिलन तामुलगायतको विशेष उपस्थिति रहेको जानकारी गोर्खा आमा समूह एम्पायर हलकी अध्यक्ष धनमाया गुरुङले दिएकी छिन् ।
कार्यक्रममा करिब 140 जना दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। विशेषगरी ज्येष्ठ नागरिक आमा–बुबा, बाजे–बज्यै तथा नेपाली समुदायका अग्रजहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पारिवारिक वातावरणमा सम्पन्न उक्त चलचित्र प्रदर्शनले नेपाली कला, संस्कृति तथा मनोरञ्जनलाई बेलायतमा प्रवर्द्धन गर्नुका साथै ज्येष्ठ नेपाली अग्रजहरूलाई मनोरञ्जन प्रदान गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ।
चलचित्र प्रदर्शनका क्रममा दर्शक तथा आमा समूहका सदस्यहरूबाट स्वेच्छिक रूपमा प्रदान गरिएको सहयोगस्वरूप कुल £126 संकलन भएको थियो।
संकलित उक्त रकम Sungabha Entertainment का निर्देशक गौरव कान्दाङ्वा लिम्बु र चलचित्रकी नायिका शृजना निङ्लेखुले संयुक्त रूपमा गोर्खा आमा समूह एम्पायर हलकी अध्यक्ष धनमाया गुरुङ तथा समूहको सम्पूर्ण टिमलाई हस्तान्तरण गरेको छ।
यस अवसरमा गोर्खा आमा समूह एम्पायर हलकी अध्यक्ष धनमाया गुरुङ तथा Sungabha Entertainment का निर्देशक गौरव कान्दाङ्वा लिम्बुले चलचित्र ‘मिर्मिरे’ को प्रदर्शनमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण दर्शक, ज्येष्ठ नागरिक, आमा समूहका सदस्यहरू, एम्पायर हलका निर्देशक नारायण गिरी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
नेपाली चलचित्र, कला, संस्कृति र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा पनि यस्ता सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकहरूले व्यक्त गरेका छन्।

