फार्नबरो । ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (BGWS) को गोर्खा भवनमा नेपालबाट बेलायत आएका प्रसिद्ध माइन्डफुलनेस तथा ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतद्धारा ‘Stress-Free Living & Awareness Training’ कार्यक्रम सम्पन्न भएको छ । ५ अगस्ट २०२६, बुधबार आयोजित उक्त विशेष कार्यक्रममा ४० जनाभन्दा बढी सहभागी भएका थिए ।
‘Cultivate Inner Peace, Live with Awareness’ भन्ने मूल भावका साथ आयोजित प्रशिक्षणमा तनाव व्यवस्थापन, आन्तरिक शान्ति, आत्मचेतना, सकारात्मक सोच तथा दैनिक जीवनलाई सहज र सन्तुलित बनाउने विषयमा स्वामी आनन्द आर्हतले व्यावहारिक प्रशिक्षण दिएको थियो। जीवनमा आइपर्ने विभिन्न समस्या र तनावका विषयलाई सरल, रोचक तथा हास्यपूर्ण शैलीमा प्रस्तुत गरेको थियो ।
कार्यक्रमको ४ बजेदेखि ७ बजेसम्म गोर्खा भवन, ११९ Wren Way, Farnborough, GU14 8TA मा आयोजना गरिएको थियो । कार्यक्रममा परिवार, समाजका अगुवा, युवासाथै वृद्ध वृद्धाहरुको सहभागी रहेको थियो ।
स्वामी आनन्द आर्हत नेपालका अनुभवी माइन्डफुलनेस तथा ध्यान प्रशिक्षकका रूपमा परिचित छन् । उनले हालै नेपालको सर्वोच्च अदालतका न्यायाधीशहरूका लागि Judicial Wellbeing Day को अवसरमा Wellness Training Programme समेत सञ्चालन गरेको कार्यक्रम सञ्चालक प्रकाश गुरुङले बताए । स्वामीको प्रशिक्षणले तनाव कम गर्न, मानसिक शान्ति विकास गर्न र समग्र जीवनशैली तथा व्यक्तिगत कल्याणमा सुधार ल्याउन व्यावहारिक उपायहरूमा जोड दिएको थियो ।
गोर्खा भवनमा स्वागत
स्वामी आनन्द आर्हत गोर्खा भवन पुग्दा ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका सदस्यहरूले उहाँलाई आत्मीय स्वागत गरेका थिए । स्वागत कार्यक्रममा मेजर (रिटायर्ड) टिकेन्द्र दल देवान जेपी, गोर्खा वेलफेयर प्रोपर्टी लिमिटेडका निर्देशक रामधन राई, निर्देशक रामलाल श्रेष्ठ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, BGWS का प्रवक्ता प्रकाश गुरुङ लगायत उपस्थिति रहेको थियो ।
-1786289626.jpg)
स्वामी आनन्द आर्हतलाई BGWS को लोगो अंकित खादा लगाई स्वागत गरिएको थियो । उहाँसँगै स्वामी महेश अधिकारीलाई पनि गोर्खा भवनमा स्वागत गरिएको थियो । त्यस अवसरमा स्वामी आनन्द आर्हतले गोर्खा भवनको विशेष भिजिटर बुकमा साइन गरे ।
सोही भवनमा गोर्खा मिडियाका मिलन तमुले स्वामीलाई खादा लगाई स्वागत गरेका थिए । स्वागतपछि भएको अनौपचारिक भेटघाटमा सहभागीहरूले स्वामी आर्हतसँग विभिन्न विषयमा कुराकानी गरेका थिए । त्यसपछि उनीद्वारा गोर्खा भवनमा ‘Stress-Free Living & Awareness’ सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको थियो ।

तनावमुक्त जीवन र आत्मचेतनामा जोड
प्रशिक्षणमा सहभागीहरूलाई दैनिक जीवनमा आइपर्ने तनाव, चिन्ता, मानसिक अशान्ति तथा विभिन्न व्यक्तिगत समस्यालाई कसरी सचेत रूपमा सामना गर्ने भन्नेबारे जानकारी दिइएको थियो । स्वामी आर्हतले केवल समस्या पहिचान गर्नेभन्दा पनि आफ्नै सोच, भावना र व्यवहारलाई सचेत रूपमा अवलोकन गर्दै जीवनमा आन्तरिक शान्ति विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
उनको सहज, व्यावहारिक र हास्यपूर्ण प्रस्तुतिका कारण कार्यक्रम निकै जीवन्त बनेको सहभागीहरूले बताएका थिए । प्रशिक्षणका क्रममा ध्यान तथा आत्मचेतनाका अभ्याससमेत गराइएको थियो ।
ओशो कुण्डलिनी ध्यानले थप आकर्षण
कार्यक्रमको अर्को चरणमा ओशो कुण्डलिनी ध्यान समेत गराइएको थियो । सहभागीहरूले उत्साहका साथ ध्यानमा सहभागिता जनाएका थिए । ध्यानपछि सहभागीहरूले आफूलाई मानसिक रूपमा हलुका, शान्त र ऊर्जावान् महसुस भएको प्रतिक्रिया दिएका थिए । धेरै सहभागीले कुण्डलिनी ध्यान आफ्नो दैनिक जीवनका लागि निकै लाभदायक अनुभव हुन सक्ने बताएका थिए ।

समुदायका विभिन्न व्यक्तित्वको सहभागिता
कार्यक्रममा BGWS का पदाधिकारी तथा सदस्यहरूका अतिरिक्त बेलायतमा सक्रिय विभिन्न नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, मर्दीखोला समाज यूकेका पूर्वअध्यक्ष चन्द्र सिंह गुरुङ, रिबान चौरा नाथु प्रल्हाद ङ्ह्रो पैगीलामा परिवार यूकेका पूर्वअध्यक्ष चोकबहादुर गुरुङ, ग्रेटर रसमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष रोहित गुरुङ, रसमोर बरोका काउन्सिलर उत्तरबहादुर गुरुङ, बीसीसी यूके आमा समूहकी अध्यक्ष शारदा गुरुङलगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
समग्रमा, गोर्खा भवनमा आयोजित ‘Stress-Free Living & Awareness Training’ ले बेलायतस्थित नेपाली तथा गोर्खा समुदायका सदस्यहरूलाई तनाव व्यवस्थापन, मानसिक शान्ति, आत्मचेतना र सकारात्मक जीवनशैलीका विषयमा नयाँ दृष्टिकोण प्रदान गरेको छ ।
सहभागीहरूको उत्साह र सकारात्मक प्रतिक्रियाले यस्ता स्वास्थ्य, ध्यान तथा व्यक्तिगत विकाससम्बन्धी कार्यक्रमहरू समुदायमा थप आवश्यक रहेको देखाएको छ । स्वामी आनन्द आर्हतको सन्देश सरल थियो । आन्तरिक शान्ति बाहिर खोजेर होइन, आफ्नै चेतना र जीवनशैलीलाई बुझेर विकास गर्न सकिन्छ ।
ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी र गोर्खा वेलफेयर प्रोपर्टी लिमिटेडबाट हल उपलब्ध गराइदिएकोमा धन्यवाद दिँदै गोर्खा मिडियालाई पनि स्वामीले धन्यवाद दिए ।
अध्यक्ष देवानले उपस्थित सबै र विशेष कार्यक्रम संयोजक प्रकाश गुरुङ र स्वामीलाई विशेष धन्यवाद दिएका थिए । कार्यक्रम संस्थाका प्रवक्ता प्रकाश गुरुङले सञ्चालन गरेका थिए ।