लन्डन । केप्छे, म्होब्जे, योज भाई खलक यूकेको वार्षिक भेटघाट सम्पन्न भएको छ । तमु प्ये ल्हु संघको भवन रेडिङमा शनिबार भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर योजको अध्यक्षतामा भएको कार्यक्रम खमिरजंग केप्छे गुरुङले सञ्चालन गरेका थिए । प्रमुख अतिथि तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर योज तमु तथा विशेष अतिथि महासचिव भेगराज चाख्ली रहेका थिए ।
प्रमुख अतिथि, संस्थाका अध्यक्ष तथा खेगी चिबा दानबहादुर म्होब्जे, हिराबहादुर म्होब्जे, हितमान केप्छे, यूएसएबाट आएका यामबहादुर केप्छे, नौबहादुर म्होब्जे र मानध्वज ल्हेंगेले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए ।
त्यसपछि नेपाली र अंग्रेजी राष्ट्रिय गान तथा निम्स दाइसहित सम्पूर्ण दिवंगतको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
भाइ खलकका अध्यक्षले संस्थाको तर्फबाट मन्तव्य राखेका थिए भने प्रमुख अतिथि र विशेष अतिथिले सफलताको कामनासहित शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको गरिमा बढाउन भूमिका खेल्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । क्वोलासोथार गएका दाजुभाइ, कलाकारहरू तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई फेटा, गर्मु, फूलको गुच्छा तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।
नेपालबाट आएका कलाकारहरू पुनम गुरुङ, शर्मिला गुरुङ, प्रिया गुरुङ र तिलक गुरुङको प्रस्तुति बेजोड थियो । राफल ड्र पनि खेलाएको थियो । डीजेमा सबैजना रमाएको थियो ।
अन्त्यमा अध्यक्षले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।