लन्डन । म्हेन्दोमाया समाज यूकेको अध्यक्षमा बम ब्लेन्देन सर्वसम्मत रूपमा चयन भएका छन् ।
अल्डरसटस्थित ओम रेस्टुरेन्टमा १ अगस्ट, शनिबारका दिन सम्पन्न वार्षिक साधारणसभाले ब्लेन्देनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा पूर्ण पाख्रिन, द्वितीय उपाध्यक्षमा थामु वाइबा, महासचिवमा कृष्ण पाख्रिन, सचिवमा शेर पाख्रिन तथा कोषाध्यक्षमा दलबहादुर ब्लेन्थेन निर्वाचित भएका छन् ।
सदस्यमा प्रेममाया तामाङ, ईश्वरीदेवी तामाङ तथा मनोरञ्जन तथा सञ्चार सदस्यमा धनु तामाङ र मनु तामाङ चयन भए । सल्लाहकारमा हरिसिङ वाइबा, रामबहादुर वाइबा, गोलबहादुर तामाङ र बुद्धि तामाङ चुनिए ।
समाजका अध्यक्ष हरिसिङ वाइबाको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । कार्यसमिति चयनका लागि वरिष्ठ सल्लाहकार राम वाइबाको अध्यक्ष मण्डल रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै संयुक्त तामाङ घेदुङ यूकेका केन्द्रीय अध्यक्षसमेत रहेका हरिसिङ वाइबाले गत वर्ष १३ जुलाई २०२५ मा बेलायतमा क्रियाशील तामाङ संस्थाहरूबीच सुरु भएको एकता अभियानलाई नवनिर्वाचित कार्यसमितिले अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
उनले बेलायतमा रहेका तामाङ समुदायको एकतालाई तार्किक निष्कर्षमा पुर्याउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको पनि बताए ।
नवनिर्वाचित अध्यक्ष बम ब्लेन्थेनले एकता कुनै एक दिनको कार्यक्रम नभई निरन्तर अभियान भएको उल्लेख गर्दै प्रवासमा बसे पनि धर्म, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्दै भावी पुस्तालाई आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताए ।
संयुक्त तामाङ घेदुङ यूके महासचिव पदमा रहेर एकता अभियानमा सक्रिय भूमिका निर्वाह गरिरहेका उनले नवगठित आफ्नो कार्यसमिति उक्त अभियान सफल बनाउन प्रतिबद्ध रहेको धारणा राखे ।