लण्डन । बिजीएनए (BGNA) को वार्षिक भ्रमण कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा पर्यटकीय नगरी बाथ सिटीको अवलोकन भ्रमण भव्य, सफल र अविस्मरणीय रूपमा सम्पन्न भएको छ। समाजका १८३ जना सदस्य सहभागी रहेको उक्त भ्रमणका लागि तीनवटा कोच (बस) को व्यवस्था गरिएको थियो । टोलीले बिहान १० बजे वेम्ब्ली, सडबरीस्थित बारहम पार्क लाइब्रेरीबाट प्रस्थान गरेको थियो।
प्रस्थानअघि समाजका अध्यक्ष सन्तबहादुर गुरुङले सहभागीहरूलाई सुरक्षा सम्बन्धी आवश्यक जानकारी (Safety Briefing) दिनुका साथै बाथ सिटीको ऐतिहासिक महत्व, भ्रमणको तालिका र फर्कने समयबारे जानकारी गराएका थिए ।
भ्रमणलाई व्यवस्थित बनाउन पहिलो बसको जिम्मेवारी अध्यक्ष सन्तबहादुर गुरुङ र उपाध्यक्ष हुमकुमारी गुरुङ, दोस्रो बसको जिम्मेवारी वासु बस्याल र एड्भर्टाइजर इन्द्रबहादुर गुरुङ, तथा तेस्रो बसको जिम्मेवारी महासचिव धनकाजी गुरुङ, गोविन्द राई र सुन्दर गुरुङले सम्हालेका थिए ।
करिब दुई घण्टा २० मिनेटको यात्रामा सहभागीहरूले बसभित्र दोहोरी गीत गाउँदै, मादल बजाउँदै र मनोरञ्जन गर्दै यात्रालाई थप उल्लासमय बनाएका थिए। दिउँसो करिब २ बजे बाथ सिटी पुगेपछि सबै सहभागीहरूले Royal Crescent अगाडि सामूहिक तस्बिर खिचे। त्यसपछि साँझ ६ बजे बसमा पुनः उपस्थित हुने समय निर्धारण गरी सबैलाई आ–आफ्नो समूहमा बाथ सिटी घुम्न पठाइएको थियो।
गर्मी मौसमका बाबजुद सहभागीहरूले प्रशस्त पानी पिउँदै बाथ सिटीका ऐतिहासिक रोमन शैलीका भवन, रमणीय सडक, बजार तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्दै त्यहाँको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक वातावरणको भरपुर आनन्द लिए।
साँझ ६:१५ बजे टोली लण्डनतर्फ प्रस्थान गरेको थियो। सम्पूर्ण भ्रमण सुरक्षित, व्यवस्थित र अत्यन्त सफलतापूर्वक सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
उक्त भ्रमणमा समाजका सल्लाहकार क्याप्टेन रणधोज राना, भरत रोका र कर्ण दर्लामी मगरको समेत विशेष उपस्थिति रहेको थियो।
सहभागीहरू राति सकुशल लण्डन आइपुगेपछि आ–आफ्नो घरतर्फ प्रस्थान गरेका थिए।
बिजीएनएले यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले सदस्यहरूबीच आपसी सद्भाव, भाइचारा, एकता र सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।