अल्डरसट । ताङ्ले समाज यूकेको वार्षिक भेटघाट सम्पन्न भएको छ । फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा शनिबार भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो
महासचिव मनोज गुरुङले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा निरञ्जन गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए ।
तमु धीं यूकेका अध्यक्षसमेत रहेका ताङ्ले समाज यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ सल्लाहकार राजकाजी गुरुङ, शेरबहादुर गुरुङ र चेलीबेटीमध्येबाट शिरशोभा गुरुङले दीप प्रज्वलन गरेका थिए ।
कलाकार परिष्का गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । नेपालबाट आएकी गायिका प्रिया गुरुङको गीतमा सबै जना झुमेका थिए । उनले गुरुङ गीत, लोक गीत तथा अन्य विभिन्न नेपाली गीत गाएर सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् ।
कार्यक्रममा यही वर्ष वैवाहिक बन्धनमा बाँधिएका नवदम्पती, ग्र्याजुएसन गरेका, नयाँ सदस्य तथा सन्तान जन्माएका सदस्यहरूलाई सम्मान गरिएको थियो । अध्यक्ष जुमकाजी र तमु धीं युके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, शेरबहादुर गुरुङ तथा राजकाजी गुरुङले उनीहरूलाई खादा, फूलको गुच्छा, पछ्यौरीसहितको मायाको चिनोले सम्मान गरेका हुन् ।
फोटो र भिडियोसहितको मिडिया कभरेज गोर्खा मिडियाले गरेको थियो । राफल ड्र चिनबहादुर गुरुङले सञ्चालन गरेका थिए । जसमा विभिन्न आकर्षक पुरस्कार राखिएको थियो । राफल ड्रमा कमलादेवी गुरुङ र उनको टिमले सहयोग गरेका थिए ।
अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।