लन्डन । नेपालमा सेरिब्रल पाल्सी भएका बालबालिकाको हेरचाह गर्दै आएको संस्था ’सेल्फ हेल्प ग्रुप फर सेरिब्रल पाल्सी’ को सहयोगार्थ नेप्लिज नर्सिङ्ग एसोसियसन युके (एनएनए युके) ले एक च्यारिटी डिनर आयोजना गर्न लागेको छ ।
आउँदो २३ अगष्ट (आइतबार) का दिन अल्डरशटस्थित द प्यालेस रेस्टुरेन्टमा आयोजना गर्न लागिएको च्यारिटी डिनरमा सांस्कृतिक कार्यक्रम, डिजे, राफल र मौलिक नेपाली खानाको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।
'नेप्लिज नर्सिङ्ग एसोसियसन युकेले आफ्नो स्थापनाकाल देखि नै नेपालको स्वास्थ्य क्षेत्रमा सघाउँदै आएको छ। यसै सिलसिलामा सेरिब्रल पाल्सी भएका बालबालिकाको सहयोगार्थ हामीले यो च्यारिटी डिनर आयोजना गर्न लागेका हौँ । यो मानवीय कार्यमा सक्दो सहयोग गर्न हामी बेलायतस्थित सबै संघसंस्था तथा महानुभावहरुलाई आग्रह गर्दछौं, 'एनएनए युकेकी अध्यक्ष रश्मिता दर्लामीले भनिन् ।
कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास, एल्डरशट र फार्नबरोका मेयर पिटर कुलम, काउन्सिलर जिब बेलबासे लगायतका पाहुनाहरुको विशेष उपस्थिति रहने एसोसियसनले जनाएको छ ।
च्यारिटी डिनर कार्यक्रमको गोल्ड स्पन्सरमा होम इन्स्टेड (ग्रिनिच एण्ड बेक्स्ली) तथा गोर्खा कन्स्ट्रक्शन लिमिटेड, सिल्भर स्पन्सरमा एभरेस्ट लाउन्ज तथा बिरा केयर र ब्रन्ज स्पन्सरमा एभरेस्ट इन, नेपाल फूड, इरो सुशी, ए स्टार फाइनान्सियल सोलुसन युके लगायत छन् । अन्य कम्पनीहरुले पनि उक्त कार्यक्रमको प्रायोजन गर्न इच्छा व्यक्त गरेको दर्लामीले बताइन् ।
नेप्लिज नर्सिङ्ग एसोसियसन युकेले जुम्लामा मितेरी बर्दिंग सेन्टर स्थापना गरेको छ भने नेपालमा महाभूकम्प र कोभिड महामारीको बेला पनि सघाएको थियो ।
यसबाहेक बेलायतका विभिन्न स्थानमा भूतपूर्व गोर्खा लगायत नेपाली समुदायका लागि स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ ।