अल्डरशट, युके । बेलायतको निजी भ्रमणका क्रममा असामयिक निधन भएका विशिष्ट बौद्ध विद्वान् स्वर्गीय डाक्टर खेन्पो ग्याल्जेन शेर्पाको पार्थिव शरीर नेपाल पठाउने भएको छ । थाउजेन्डस् बुद्ध युकेको अगुवाईमा बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युके,, शेर्पा एसोसिएसन युके, कोर्बि समाज युके, इलाम समाज युकेलगायत बेलायतस्थित विभिन्न संघ–संस्थाहरूको विशेष पहल र संयुक्त प्रयासमा उनको पार्थिव शरीर नेपाल लैजान लागिएको हो ।
दिवंगत डा. खेन्पोको मृतात्माको शान्तिको कामना गर्दै गत आइतबार (२६ जुलाई) अल्डरशटस्थित बुद्धिस्ट कम्युनिटी सेन्टरको गुम्बामा एक भावपूर्ण श्रद्धाञ्जली सभा सम्पन्न भयो । सो अवसरमा उनको पार्थिव शरीरलाई गुम्बा परिसरमा राखी बौद्ध धर्म–परम्परा अनुसार पूजनीय गुरुहरूबाट धार्मिक पूजापाठ तथा प्रार्थना गरिएको थियो ।
गत जुलाईका १२ जुलाईको विहानमा असमायिक निधन भएका स्वर्गिय डा. शेर्पाको पार्थिव शरीर मंगलबार २८ जुलाईका बिहान नेपाल पठाउन लागिएको बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाले जानकारी दिए। साथै, उनको पार्थिव शरीर नेपाल पठाउनमा आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्य अनुरुप बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युके, थाउजेन्डस् बुद्ध युके, शेर्पा एसोसिएसन युके, बुद्धिष्ट कम्युनिटी सेन्टर केन्ट, कोर्बि समाज युके, इलाम समाज युके, ऐन्डोबरका मनकुमारी गुरूंगका टिम, रेडिङ्ग गुम्बा लगायत विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक सहयोग संकलन गरिएको अध्यक्ष शेर्पाले जानकारी गराउँदै पार्थिव शरीर नेपाल पठाइ वचत भएको रकम स्वर्गिय डा. शेर्पाले लुक्लामा निर्माण भैरहेको गुम्बाको सही जिम्मेवारी व्यक्तिलाई हस्तान्तरण गर्ने बताए ।
थाउजेन्डस् बुद्ध युकेका अध्यक्ष मेजर समुन्द्र गुरुङको संयोजनमा सम्पन्न श्रद्धाञ्जली सभामा बिसीसी युकेका अध्यक्ष आङदावा शेर्पा, शेर्पा एशोसिएसन युकेका अध्यक्ष रिन्जी शेर्पा, बीसीसी केन्टका अध्यक्ष निमा तेन्जी शेर्पा, कोर्वि समाजका जीवन गुरुङ, इलाम समाज युकेकी उपाध्यक्ष मीना गुरुङ, बीजिएन आर्चाय पसाङ्ग शेर्पा लगायत बेलायतका विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूले स्वर्गिय डा. शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
सहभागीहरूले बौद्ध धर्मका ज्ञाता डा. खेन्पोप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।