धन घले
फार्नबरो (बेलायत) । गोर्खा जिल्लाको उत्तरी भेगबाट बेलायतमा बसोबास गर्दै आएका बारपाक तथा घले भाषा बोल्ने समुदायको साझा संस्था बारपाकी समाज यूकेले आफ्नो २१औँ वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न गरेको छ।
शनिबार, २५ जुलाई २०२६ मा बेलायतको सामुएल कोडी स्कूल, फार्नबरोमा आयोजित कार्यक्रममा बेलायतभरि रहेका बारपाकी समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम समाजका अध्यक्ष जीत बहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको हो।
सन् २००५ मा डम्बर घलेको अध्यक्षतामा स्थापना भएको बारपाकी समाज यूकेले स्थापनाको २१ वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सवसँगै विविध सांस्कृतिक, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको थियो।
गोर्खाको बारपाक क्षेत्र २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दुका रूपमा परिचित हुनुका साथै ब्रिटिश तथा भारतीय सेनामा सेवा गरेका गोर्खा सैनिकहरूको गाउँका रूपमा समेत चिनिन्छ। समाजले बारपाकसहित घले भाषा बोलिने आसपासका गाउँबाट बेलायतमा बसोबास गर्ने नेपालीहरूलाई एउटै साझा चौतारीमा जोड्दै आएको छ।
वार्षिकोत्सवका अवसरमा विभिन्न खेल तथा मनोरञ्जनात्मक कार्यक्रम, उपहार वितरण तथा भाग्यचिठ्ठा (लक्की ड्र) सञ्चालन गरिएको थियो। समाज तथा व्यक्तिगत प्रायोजकहरूको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले सहभागीहरूमा थप उत्साह प्रदान गरेको थियो।
यस अवसरमा शिक्षा, सेना, खेलकुद, कला, साहित्य तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा चलचित्र निर्माता दिल घले, रचनाकार कुल घले, कुंगफु खेलकी स्वर्ण पदक विजेता सरिना घले, चर्चित गायिका मेमिसा घले, घले समाज यूकेका पूर्वअध्यक्ष टिका घले, केन्द्रीय लि:ल फङका कोषाध्यक्ष गणेश घले तथा अमेरिकी सेनामा कार्यरत लेफ्टिनेन्ट कर्नेल तिलराज घलेलगायत रहेका थिए।
त्यसैगरी, लि:ल फङ (घले समाज) अन्तर्राष्ट्रिय समन्वय समितिका संरक्षक धन घले तथा गायिका मेमिसा घलेले “लि:ल फङ” अंकित सम्मान खादा ओढाई गणेश घले र लेफ्टिनेन्ट कर्नेल तिलराज घलेलाई विशेष सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहे पनि आफ्नो भाषा, संस्कृति, परम्परा र सामुदायिक एकतालाई जगेर्ना गर्दै आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।
बारपाकी समाज यूकेको अध्यक्ष जीत बहादुर घले, उपाध्यक्ष तोधन घले, महासचिव प्रीतिलाल घले, सचिव बुद्धि घले, कोषाध्यक्ष मिन घले, मनोरञ्जन संयोजक श्रीमती गुमदानी घले र धनेश घले, तथा हल सजावट संयोजक श्रीमती लक्ष्मी घलेलगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव प्रीतिलाल घलेले गरेका थिए ।

