बेलायत । पोखरेली मञ्च युके (PMUK) को आयोजनामा हुने 'क्याम्प नेपाल २०२६' को तयारी पुरा भएको छ ।
आगामी सन् २०२६ को जुलाई २४ देखि २६ सम्म ब्रिस्टलको अप्टन चेनीस्थित म्यानर फार्ममा यो विशेष क्याम्पिङ कार्यक्रम सञ्चालन हुनेछ । 'हाइक फर नेपाल' आयोजना गर्दै आएको मञ्चले यसपटक थप परिष्कृत र ठुलो स्वरूपमा 'क्याम्प नेपाल' को परिकल्पना गरेको आयोजकले बताएको छ ।
यस तीन दिने आवासीय कार्यक्रमका लागि प्रति व्यक्ति ३० पाउन्ड प्रवेश शुल्क निर्धारण गरिएको छ । बालबालिकाको हकमा ५ वर्षमुनिकालाई निःशुल्क प्रवेशको व्यवस्था छ भने ६ देखि १० वर्षसम्मका लागि १० पाउन्ड तोकिएको छ । खानपानको सन्दर्भमा क्याम्प स्थलमै दाउराको आगोमा पकाइएको रैथाने नेपाली स्वादको दाल-भात उपलब्ध हुनेछ, जसका लागि प्रति व्यक्ति १५ पाउन्ड शुल्क लाग्ने बताइएको छ ।
बिहानको खाजामा सेलरोटी, आलु चना र मसला चिया जस्ता परिकारहरू खरिद गर्न सकिने प्रबन्ध मिलाइएको जानकारी आयोजकले बताएको छ । सहभागीहरूको मनोरञ्जनका लागि सांगीतिक साँझको समेत आयोजना गरिनेछ, जहाँ चर्चित गायक रबिन श्रेष्ठ र सामर्थ्य ब्यान्डका साथै स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।
बालबालिकाहरूका लागि रचनात्मक खेल र पुस्तकहरूका साथै युवा पुस्तालाई लक्षित गरी आत्मविश्वास र सांस्कृतिक पहिचान जगाउने 'राइज एन्ड साइन' सत्रहरू सञ्चालन गरिनेछ ।
क्याम्पिङ क्षेत्र आसपास रहेका बाथ सिटी, स्टोनहेन्ज र सफारी पार्क जस्ता पर्यटकीय स्थलहरूको भ्रमण गर्ने अवसर समेत सहभागीहरूलाई मिल्नेछ । कार्यक्रमलाई अनुशासित र सुरक्षित बनाउन आयोजकले केही महत्त्वपूर्ण नियमहरू पालना गर्न आग्रह गरेको छ । क्याम्पिङ क्षेत्रमा सरसफाइ कायम राख्नुपर्ने, मध्यरातपछि होहल्ला गर्न नपाइने र आगो तथा ग्यासको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने सर्तहरू राखिएका छन् ।