बेलायत । बेलायतमा आयोजित नवौं संस्करणको 'पीपल नेपालकप टी-२०' क्रिकेट प्रतियोगिताको उपाधि माया क्रिकेट क्लबले जितेको छ। पोखरेली मञ्च यूकेको आयोजनामा तीन दिनसम्म चलेको उक्त प्रतियोगिताको फाइनलमा हिमालयन क्रिकेट क्लबलाई पराजित गर्दै माया क्लबले लगातार तेस्रो पटक च्याम्पियन बनेर ऐतिहासिक 'ह्याट्रिक' पूरा गरेको हो।
उपाधिसँगै विजेता माया क्रिकेट क्लबले नगद २ हजार पाउण्ड र ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा सीमित हिमालयन क्रिकेट क्लबले १ हजार पाउण्डमा चित्त बुझाएको छ। प्रतियोगितामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन साउदको वर्चस्व रह्यो। माया क्लबबाट खेलेका उनले उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र 'प्लेयर अफ द टुर्नामेन्ट' गरी तीनै विधाका मुख्य पुरस्कार हात पारे। प्रतियोगिताभर कूल २ सय ३८ रन बनाउनुका साथै ८ विकेट लिएका अर्जुनले तीनवटा पुरस्कार वापत नगद ८ सय ५० पाउण्ड समेत प्राप्त गरे।
विजेता तथा उपविजेता टोली र खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव एवम् पूर्व कप्तान पारस खड्काले पुरस्कार वितरण गरे। सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष पवित्र गुरुङ, प्रतियोगिता संयोजक करम गुरुङ, संस्थापक अध्यक्ष क्या. रि. सीबी पुन, क्रिकेट संयोजक प्रकाश गुरुङ र विनय पुन लगायतको उपस्थिति थियो।
पुरस्कार वितरण समारोहमा बोल्दै क्यान अध्यक्ष चन्द र सचिव खड्काले प्रवासमा आयोजना हुने यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको श्रीवृद्धिमा ठूलो टेवा पुग्ने बताए। डायस्पोरामा रहेका खेलाडीको हौसला बढाउन र नयाँ प्रतिभा पहिचान गर्न नेपाल कप जस्ता खेलकुद कार्यक्रम कोशेढुंगा सावित हुने उनीहरूको भनाइ थियो। उनीहरूले आयोजक पोखरेली मञ्च र सहयोगी दाताहरूलाई यो अभियानलाई निरन्तरता दिन आग्रह समेत गरे।
मञ्चका अध्यक्ष पवित्र गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए भने संयोजक करम गुरुङले आगामी वर्षहरूमा यस प्रतियोगितालाई अझै परिष्कृत र वृहत् बनाउने प्रतिबद्धता व्यक्त गरे।
यसपटकको प्रतियोगितामा खुकुरी, माया, हिमालयन, नवयुवा, गोर्खा केन्ट, रमाइलो, नटिङहम गोर्खा, साथी, माया डांफे, वुल्भरह्याम्पटन वारियर र एभरेष्ट राइनोस गरी बेलायतभरका ११ टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्यहरू अर्जुन साउद र रिजन ढकालका साथै नटिङहम काउन्टीका दीपेश सापकोटा र बेलायतका स्थानीय लिग खेल्ने प्रतिभावान खेलाडीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न विधाका पुरस्कारका लागि पीपल ग्रुप, माया ग्रुप, एभरेष्ट तन्दुरी, जेजे बिल्ड्स र वेबथ्री टेक्नोलोजीले प्रायोजन गरेका थिए। आयोजकले सो अवसरमा सहयोगी तथा प्रायोजकहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान समेत गरेको थियो।


