लन्डन । गैरआवासीय नेपाली संघको हालै सम्पन्न ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकले ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
जसमध्ये अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, बेलायतमै प्राध्यापन र जनस्वास्थ्यको क्षेत्रमा स्थापित नाम प्रा. पदम सिम्खडा र बीबीसीका पूर्व पत्रकार भगीरथ योगीलाई उनीहरूको लामो अनुभव र विज्ञताका आधारमा आईसीसी सल्लाहकार मनोनीत गरिएको छ ।
त्यस्तै, एनआरएनए युकेको नेतृत्व सम्हालिसकेकी नेत्री पुनम गुरुङ र एनआरएनए अभियानका अभियन्ता लक्ष्य गुरुङलाई पूर्व पदाधिकारी तथा अगुवाका रूपमा संघको आईसीसी सल्लाहकार समितिमा सर्वसम्मत मनोनयन गरिएको छ ।
यसै गरी महिला तथा दोस्रो पुस्ता कोटाबाट बेलायतमा रहेकी क्रियाशील नेत्री कल्पना त्रिपाठीलाई आईसीसी सदस्यमा मनोनयन गरिएको छ । दोस्रो पुस्ताका नेपाली युवाहरूलाई संघसँग जोड्न र उनीहरूको आवाज बुलन्द गर्न बेलायतका उदीयमान युवाहरू गौरवराज केसी र जागृत पौडेललाई पनि युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै आईसीसी सदस्यको रूपमा चयन गरिएको छ ।
यसका साथै, चिकित्सा क्षेत्रमा स्थापित वरिष्ठ चिकित्सक डा. सुनील साहलाई उनको स्वास्थ्य क्षेत्रको विशेष योगदान र विज्ञताका आधारमा आईसीसी सदस्यमा मनोनयन गरिएको छ । बेलायतबाट एनआरएनए अभियानमा निरन्तर क्रियाशील राजन खकुरेल र सामाजिक रूपमा सक्रिय रामचन्द्र गुरुङलाई पनि ११५औँ बैठकले आईसीसी सदस्यका रूपमा अनुमोदन गरेको छ । यस्तै अडिट कमिटीमा एलएन पाण्डे र इन्द्र गिरीलाई मनोनीत गरिएको छ ।
संघको नयाँ कार्यसमिति (२०२५-२०२७) का लागि विभिन्न रिक्त पदहरूमा मनोनयन प्रक्रियालाई पूर्णता दिएको छ । सांगठनिक सुदृढीकरण, एकता र विभिन्न विभागहरूको प्रभावकारी सञ्चालनका लागि संघले विश्वभरबाट पदाधिकारी, सल्लाहकार तथा आईसीसी सदस्यहरू चयन गर्ने क्रममा संयुक्त अधिराज्य बेलायतबाट लामो समयदेखि सामाजिक, प्राज्ञिक र व्यावसायिक क्षेत्रमा सक्रिय रहेका ११ जना प्रभावशाली व्यक्तित्वहरूलाई समेटेको छ ।
संघको केन्द्रीय सचिवालय र नीति निर्माण तहमा बेलायतको उपस्थितिलाई थप बलियो बनाउँदै एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय प्रसुना कडेललाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय सचिव पदमा मनोनयन गरिएको छ ।
गैरआवासीय नेपाली संघको ११५ औँ बैठकले पारित गरेको सांगठनिक र नेतृत्व कार्ययोजनामा बेलायतबाट समेटिएका यी प्राज्ञिक, व्यावसायिक, पत्रकारिता र युवा क्षेत्रका अनुहारहरूले आगामी दिनमा संघको साख उच्च बनाउनुका साथै बेलायतमा रहेका दोस्रो पुस्ताका नेपालीहरूलाई नेपाल र नेपालीपनसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।